सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो। माओवादीले संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमासमेत छलफल गरेको छ। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताले जोड दिनुभएको सचिव पौडेलले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘एउटा संसदलाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुन पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो। दोस्रो, क्याबिनेटको विस्तार बढीमा पर्सीसम्म गरेर डेलिभरीका काम सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो।’’
बैठकमा सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भएको उहाँको भनाइ छ।। ‘‘गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषय पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकार पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो।’’
बैठकमा नेताले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको ध्यानाकर्षण गराएका थिए।




