आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले सफलता हात पारेको छ ।
नेपाली टोलीले बिहीबार खेलिएको दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १८ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
नेपाली टोलीको जितमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतकीय योगदान गरे । ओपनर आसिफ शेखले ५८ रन बनाए ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका आसिफ शेखले केवल २९ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काए । उनी ‘रिटायर्ड आउट’ भएर मैदानबाट बाहिरिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले पनि ४४ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३० बलमा एक छक्का र चार चौका हिर्काए ।
ओपनर कुशल भुर्तेल भने ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । गुलसन झाले टोलीका लागि अविजित ३१ रनको योगदान गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २५ बलको सामना गरी पाँच चौका हिर्काए । दीपेन्द्रसिंह ऐरी नौ रनमा अविजित रहे । लोकेश बम पाँच रन बनाउँदै आउट भए ।
त्यसअघि, क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले ४१ रनको योगदान गरेका थिए । उनले केवल ३६ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।
छैटौं नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभाले अविजित ३८ रन बनाए । उनले केवल १९ बलमा तीन छक्का र दुई चौका हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान कंवरपाल तथगुरले पनि टोलीको खातामा २५ रन थपे । उनले २४ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
जसकरण सिंहले पनि टोलीका लागि २१ रनको योगदान गरे । सातौं नम्बरमा क्रिज समाल्न आएका उनले केवल ११ बलमा तीन छक्का प्रहार गरे ।
निकोलस किर्तनले चार बलमा एक छक्का र एक चौकाको मद्दतले १० रन जोडे । पहिलो विकेट १८ रनमै गुमाएपछि नवनित र कंवरपालले टोलीको स्कोरलाई ८१ रनको स्थितिमा पुर्याएका थिए ।
नेपाली टोलीका बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले पनि एक/एक विकेट हात पारे । क्यानडाले अतिरिक्त रूपमा १० रन पाएको थियो ।
यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो ।
विश्वकपअघि नेपालले खेलेको यो अन्तिम अभ्यास खेल हो । टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
आगामी विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।
त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिज टी–२० विश्वकपका पूर्वविजेता हुन् । अन्तिम समयमा बंगलादेशले विश्वकप बहिष्कार गरेपछि स्कटल्यान्डले खेल्ने अवसर पाएको हो ।





