प्रतिनिधि सभा अन्तर्गत झापा निर्वाचन क्षेत्र ५ यतिबेला चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) शाहले उम्मेदवारी दिने चर्चाले राजनीतिक वृत्तलाई तरङ्गित तुल्याएको छ ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । उनले झापा–५ बाटै उम्मेदवारी दिने आधिकारिक निर्णय भइनसके पनि रास्वपाबाटै चलाइएको चर्चालाई लिएर सर्वत्र चासो बढाएको छ । बालेनले झापा–५ नै किन रोज्दैछन् भन्नेबारे पनि प्रश्न नउठेको होइन ।

बालेनका लागि झापा विल्कुलै नयाँ राजनीतिक थलो हो । झापासँग उनको पारिवारिक वा सामाजिक साइनो कतै जोडिएको छैन । अर्कोतिर ओलीका लागि देशभरमै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हो झापा– ५ । उनी सो निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन् । यही क्षेत्रबाट निर्वाचित भएर उनले पटक–पटक प्रधानमन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

यो पटक बालेनले झापा–५ बाटै उम्मेदवारी दिने फाइनल भएको खण्डमा झापा–५ मा पूर्वप्रधानमन्त्री भर्सेज ‘भावी प्रधानमन्त्री’बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

  • बालेन झापा–५ मै किन ?

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकका अनुसार बालेन शाह झापा जानुमा विशुद्ध राजनीतिक ‘कनेक्सन’ रहेको बताउँछन् । ‘कुनै कनेक्सन र योगदानबिना नै बालेनले झापा–५ नै किन रोज्ने ?’ भन्ने प्रश्नमा पाठकले भने, ‘त्यहाँ ओलीलाई परास्त गर्न र राजनीतिक सिँगौरी खेल्न नै जान लागेको हो । चुनाव भनेको प्रतिस्पर्धा हो । सङ्ग्राम हो ।’

पाठकका अनुसार बालेन शाहको जित्ने आधार भनेको रास्वपाको संगठन र चुनाव चिह्न ‘घण्टी’ नै हो । त्यसका साथै नयाँ पुस्ता र त्यहाँको विशिष्ट जनमत नै बालेनले चुनाव जित्ने आधार रहेको उनको दाबी छ । ‘मतदाताले बालेनलाई विगतको योगदानभन्दा पनि भोलिको आशा, विश्वास र सम्भावनाका साथै मुलुक निर्माणको आधारस्तम्भको रूपमा हेर्नेछन्,’ उनले भने ।

बालेनले झापा–५ बाट चुनाव लड्नुमा उनकै इच्छा र पार्टीको स्वीकृति रहेको पाठकको दाबी छ । ‘झापाबाट लड्ने कुरामा बालेन शाहको पहिलेदेखिको इच्छाका साथै चितवनपछि रास्वपाको बलियो संगठन मानिने झापा जिल्ला कमिटीको तयारी दुवै कारक हुन्,’ उनले भने, ‘केन्द्रीय समितिले बालेनलाई काठमाडौँ, महोत्तरी वा अन्य सुरक्षित जिल्लाको विकल्प दिए पनि बालेन शाह स्वयंले झापा–५ लाई नै केन्द्रित गरेर अभियान चलाइरहनु भएको छ ।’

यस पटक ओलीलाई झापा–५ का मतदाताले पराजित गर्दै रास्वपाका लोकप्रिय नेता बालेनलाई विजयी बनाउने पाठकको दाबी छ । ओलीसँग भिड्न गए बालेन शाह पराजित हुने अनुमान धेरैले गरिरहँदा पाठक भने त्यो सत्य नभएको दाबी गर्छन् । ‘उहाँ (बालेन)ले लामो छलफलपछि मेरो तयारी झापा–५ बाटै उठ्ने छ भन्ने कुरा प्रस्ट रूपमा राख्नुभएको छ,’ उनले भने, ‘जित्नेमा हामी ढुक्क छौँ । ओली बालाई हराउन बालेन नै चाहिन्छ भन्ने पनि छैन, तर उहाँ आउँदा झनै सहज हुन्छ ।’

झापा–५ मा बालेनले उम्मेदवारी दिएको खण्डमा पुरानो सङ्गठनात्मक शक्ति र नयाँ पुस्ताको विद्रोहबिचको जनमतसमेत परीक्षण हुने देखिएको छ ।

एमाले नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल झापा–५ मा ओलीको विकल्प देख्दैनन् । खरेलका अनुसार यो क्षेत्रसँग ओलीको सम्बन्ध भावनात्मक र विकास केन्द्रित छ । ‘केपी ओली ०४८ सालदेखि यही क्षेत्रबाट लड्दै आउनुभएको छ । उहाँले कहिल्यै निर्वाचन क्षेत्र बदल्नुभएन । उहाँ यहाँको माटो, मान्छे र विकाससँग भिज्नुभएको छ ।’ त्यसैले झापा–५ एमाले अध्यक्ष ओलीका लागि पूर्णतः ‘सेफ जोन’ रहेको उनको दाबी छ ।

दमकमा भएका सडक, पुल र भौतिक पूर्वाधारका कामहरू नै ओलीका जित्ने मुख्य आधार भएको खरेलले प्रस्ट पारे । बालेन शाहको सम्भावित आगमनलाई ‘सिँगौरी खेल’को संज्ञा दिँदै उनले प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत हुने व्यक्तिले यस्तो ‘रिस्क जोन’मा चुनाव लड्नु नहुने सुझाव दिए ।

‘कसैको उक्साहटमा लागेर सिँगौरी खेल्न आउनु आवेग र उत्तेजनामात्र हो,’ खरेलले भने, ‘राजनीतिमा यसको परिणाम घातक हुन सक्छ ।’

बालेन झापा–५ बाट उम्मेदवार बन्ने चर्चाले स्थानीयस्तरमा पनि बहस सिर्जना गरेको छ । केही स्थानीय विश्लेषक ओलीलाई ‘चतुर खेलाडी’ मान्छन् । उनीहरूका अनुसार ओलीले दमकमा गरेको काम र एमालेको कट्टर कार्यकर्ताको सञ्जाललाई भत्काउन बाहिरी शक्तिलाई सहज छैन । ‘बालेन शाह युवा पुस्ताका लागि लहरमात्र हुन्, तर ओली एउटा संस्था हुन्,’ कांग्रेस झापाका नेता ज्ञानमणि भुर्तेलले भने । उनी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको सम्भावित चुनावी तालमेलले विपक्षीहरूको सबै ढोका बन्द गरिदिने दाबी गर्छन् ।

केहीले बालेन शाहको आगमनले नयाँ लहर ल्याउने दाबी गरिरहेका छन् । प्राध्यापक धनन्जय बास्कोटाका अनुसार अब सङ्गठित सदस्यको भरमा मात्र चुनाव जित्ने दिन सकिएका छन् । ‘अहिलेको समयले परिवर्तन मागेको छ । ३५–३६ वर्षदेखि एउटै मान्छे सांसद, मन्त्री र प्रधानमन्त्री भइरहेका छन्,’ उनलेभ भने, ‘जनताले पटक–पटक बहुमत र दुई तिहाइ दिए पनि आधारभूत समस्या समाधान नहुँदा नयाँ पुस्तामा चरम असन्तुष्टि छ ।’

२०७४ र २०७९ सालको चुनावमा ओलीले पाएको मत र अहिलेको परिस्थितिमा ठुलो अन्तर रहेको उनको दाबी छ । ‘त्यतिबेला राष्ट्रवादको सुनपानीले ओलीलाई चोख्याएको थियो, तर अहिले त्यो लहर सकिएको छ,’ उनले भने, ‘अहिले त बाबु–आमा एमाले–कांग्रेस भए पनि छोराछोरीले बालेनका लागि उनीहरूलाई कन्भिन्स गरिरहेका छन् । विशेषगरी विदेशमा रहेका सन्तानहरूले मोबाइलबाटै घरको भोट परिवर्तन गराइरहेका छन् ।’

झापा–५ मा जेनजी विद्रोहको छाया देखिने सम्भावना बलियो रहेको बास्कोटाको तर्क छ । काठमाडौँको मेयरका रूपमा बालेनले चालेका केही साहसिक कदमले यहाँका युवालाई आकर्षित गरेको उनले बताए । यद्यपि परिणाम दुवैका लागि जोखिमपूर्ण आउन सक्ने उनको अनुमान छ । ‘यो निर्वाचन नयाँ र पुरानो पुस्ताबिचको एउटा अन्तद्वन्द्व हो । कसले जित्छ भनेर ठोकुवा गर्न सकिँदैन । दुवैका लागि जोखिम छ । कोही पनि ढुक्क हुने अवस्था हुँदैन,’ उनले भने ।

झापाका प्राध्यापक उत्तम भट्टराई भने ओलीलाई झापा–५ मा पराजित गर्न जोसूकैलाई कठिन हुने बताउँँछन् । ‘यहाँ पछिल्लो समय धेरै विकास भएको छ । गाउँगाउँमा बाटो पुगेको छ, पुल पुलेसा बनेका छन् । एउटै खोलामा ३–४ वटा पुल बनेका छन्, जुन हामी सानो हुँदा वारपार गर्न कठिन हुन्थ्यो,’ उनले भने, ‘गाउँमा समेत दुई लेनको बाटो पुगेको छ । त्यसकारण केपी ओलीको प्रभाव यहाँ अत्यन्तै राम्रो छ । उहाँले अघिल्लो चुनावमा ५२ हजार मत ल्याउनुभएको थियो । अहिले यहाँ ९ हजार मतदाता बढेका छन् । उहाँले ५० हजारभन्दा बढी मत ल्याएर चुनाव जित्नुहुन्छ ।’

भट्टराई त बालेन शाह झापा–५ बाट चुनाव लड्छन् जस्तो आफूलाई नलागेको बताउँछन् । ‘मलाई त बालेन शाह यहाँ चुनाव लड्न आउँछन् जस्तो लाग्दैन । आए पनि उनी कुनै अद्भुत भगवान् होइन, मिडिया र एउटा पुस्ताले मात्र चर्चामा ल्याएको मात्र हो,’ उनले भने, ‘बालेन वा रवि जो आए पनि ओलीलाई केही फरक पर्दैन । झापाको ५ नम्बर क्षेत्र एमालेको बलियो क्षेत्र हो । सबै विपक्षीहरू एक हुँदा पनि ओलीलाई डगमग गराउन सक्ने म देख्दिनँ ।’

सोही क्षेत्रबाट निर्वाचनको मैदानमा उत्रिने तयारीमा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ आफू सबै खालका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तयार भएर बसेको बताउँछन् । ‘ओली विकासका संवाहक होइनन्, बरु राजनीतिक दुर्घटनाका कारक हुन्,’ उनले भने, ‘जसले तीन–तीन पटक मुलुकलाई राजनीतिक दुर्घटनामा पु¥यायो, संसद् विघटन गरेर लोकतन्त्रलाई संकटमा पा¥यो, त्यस्तो व्यक्तिलाई अब चौथो पटक देश सुम्पन सकिँदैन ।’

तामाङले बालेन शाह पनि अर्को अति भएको तर्क गरे । यद्यपि बालेनको परीक्षण  हुन बाँकी रहेको उनको भनाइ छ । ‘बालेनजी मेयर त हुनुभयो, तर उहाँ जनतामा अझै टेस्टेड हुनुभएको छैन । झापा आउँदा केवल ओलीसँग लड्नमात्र होइन, यहाँका सुकुमबासी र सडक पेटीमा तरकारी बेचेर गुजारा गर्ने गरिबको पेटमा लात हान्दिनँ भन्ने बाचा गरेर आउनुपर्छ,’ उनले भने ।

आफू देशलाई संकटमा धकेल्ने ओली र संकटमा पर्दा अगाडि उभिन नसक्ने बालेनसँग प्रतिस्पर्धा गर्ने तामाङको भनाइ छ । ‘यी दुवै खाले प्रवृत्तिको भण्डाफोर गर्दै जनताको बिचमा जान्छु । चुनावी मैदानमा जो आए पनि मेरो स्वागत छ,’ उनले भने ।

एकातिर केपी ओलीको ३६ वर्ष लामो विरासत, स्थानीय विकास र एमालेको इस्पाती सङ्गठन छ । अर्कोतिर बालेन शाहको रूपमा आएको नयाँ पुस्ताको आकाङ्क्षा र पुराना दलप्रतिको चरम वितृष्णा छ । बालेन शाहका लागि यो ‘सिँगौरी खेल’ आत्मघाती हुन्छ कि धनन्जय बास्कोटाले भनेजस्तो नयाँ पुस्ताको विद्रोहले ओलीको किल्ला भत्काउँछ ? यसको जबाफका लागि फागुन २१ सम्म कुर्नैपर्ने हुन्छ ।

ओलीको सहयोगी बन्दै आएको राप्रपाको भूमिका कस्तो रहला ?

झापा–५ मा ओलीको जितमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि सहयोगी भूमिका रहँदै आएको छ । २०७४ सालको निर्वाचनमा एमालेले तत्कालीन माओवादीका साथै राप्रपासँग पनि गठबन्धन गरेको थियो । त्यसैले ओलीको त्यो जितमा माओवादी र राप्रपाको पनि योगदान थियो ।

२०७९ सालको निर्वाचनमा ओलीले राप्रपासँग आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धन गरेका थिए । ओलीले पपुलर मत ल्याउनुमा त्यो बेला पनि राप्रपाको सहयोगी भूमिका थियो ।

आउँदो फागुन २१ को निर्वाचनमा भने ओलीलाई झापा–५ मा राप्रपाले पुनः सहयोग गर्छ कि गर्दैन भन्ने टुङ्गो लागिसकेको छैन । यसका साथै बालेन शाह उम्मेदवार बन्दा राप्रपाले उनलाई सहयोग गर्छ कि गर्दैन भन्ने पनि टुङ्गो छैन । यद्यपि बालेन शाहको टोलीले राप्रपाबाट निर्वाचित दमकका मेयर राम थापासँग भने कुराकानी गरेको बताइएको छ । दुवै पक्षबिच के कुरा भयो भन्ने विषयमा आधिकारिक जानकारी आएको छैन ।

सो क्षेत्रमा २०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ३५ हजार ८७२ मत ल्याएको थियो भने दोस्रो स्थानमा रहेको रास्वपाले १८ हजार २०५, कांग्रेसले १६ हजार ८५९, माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत ल्याएका थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय