चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको यो अवधिमा आर्थिक वृद्धिदर सो बराबर रहेको प्रारम्भिक अनुमान गरेको हो ।
यो वर्षको पहिलो त्रैमास देशका लागि सुखद् थिएन । जेनजी आन्दोलनले देश विध्वंश मात्रै भएन, एक सातासम्म देश नै ठप्प हुने अवस्था देखिएको थियो । आन्दोलनका कारण मात्रै झण्डै ८४ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसबाहेक बाढीपहिरोका कारण समेत यो अवधिमा ठुलो क्षति पुग्यो । सीमावर्ती नाकामा आएको बाढीले चीनसँग जोडिएका रसुवागढी, तातोपानी लगायत नाका प्रभावित हुँदा आयातमा समेत असर गर्यो । दसैंको समयमा आएको बाढीपहिरोका कारण कोशी प्रदेशसहित देशभर क्षतिको अवस्था रह्यो ।
यी सबैको बाबजुद आर्थिक वृद्धिमा अघिल्ला दुई वर्षभन्दा सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २०८०/८१ मा यस्तो वृद्धिदर समान २.९ प्रतिशत रहेको थियो । पछिल्ला तीन त्रैमासमा भएको वृद्धिले समग्र वर्षको आर्थिक वृद्धिमा योगदान गरेको देखिन्छ ।
कुन क्षेत्रमा कति भयो आर्थिक वृद्धि ?
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धि मापनका लागि १८ वटा समूहगत क्षेत्रको तथ्यांक प्रस्तुत गर्दै आएको छ । यसमध्ये कृषि क्षेत्रमा १.४ प्रतिशत, खानी क्षेत्रमा ३.८ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १.५ प्रतिशत, विद्युत ग्यास लगायत क्षेत्रमा १४.९ प्रतिशत, खानेपानी सरसफाइ र फोहोर व्यवस्थापनमा १.१ प्रतिशत र निर्माण क्षेत्रमा ३.३ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै, होलसेल तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा भण्डारणमा १.४ प्रतिशत, होटल तथा आवास क्षेत्रमा २.१ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा २.१ प्रतिशत, वित्तीय तथा बीमा सेवातर्फ ७.१ प्रतिशत, रियलस्टेटमा १.८ प्रतिशत, पेसागत क्षेत्रमा ५.५ प्रतिशत, प्रशासनिक क्षेत्रमा ५.५ प्रतिशत, सार्वजनिक सेवामा १.४ प्रतिशत, शिक्षामा २.७ प्रतिशत र स्वास्थ्य तथा समाजसेवा क्षेत्रमा १.६ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ ।
आठ क्षेत्रले थेग्यो अघिल्लो वृद्धि
यो अवधिमा सबै क्षेत्रको वृद्धिदर सकारात्मक रहेपनि ८ वटा क्षेत्रको वृद्धि मात्रै अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । बाँकी १० वटा क्षेत्रको वृद्धिदर भने घटेको छ ।
अर्थतन्त्रमा कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत बिन्दुले घटेको छ । त्यस बाहेक उत्पादनमूलक, विद्युत तथा ग्यास, खानेपानी, यातायात, होटल तथा आवास सेवा, सूचना प्रविधि, घरजग्गा, स्वास्थ्य तथा मानव सेवा एवं अन्य क्षेत्रको वृद्धिदर सकारात्मक रहेपनि अघिल्लो वर्षको यही अवधिको तुलनामा घटेको छ ।
तर खानी, निर्माण, होलसेल तथा खुद्रा, वित्तीय तथा बीमा सेवा, पेसागत क्षेत्र, प्रशासनिक क्षेत्र, सार्वजनिक सेवा र शिक्षा क्षेत्रको वृद्धिदर बढ्दा अघिल्लो वर्षको आर्थिक वृद्धिको तुलनामा यो वर्ष सुधार आएको देखिन्छ ।
यो अवधिमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर घटेपनि होलसेल क्षेत्र, निर्माण क्षेत्र, वित्तीय क्षेत्र, शिक्षा लगायत अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगट्ने क्षेत्रको सुधारले समग्र वृद्धिदरलाई अघिल्लो वर्षभन्दा घट्न नदिएको देखिन्छ ।




