मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।

यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो । थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।

थपिएका मतदाता जेनजी आन्दोलनको पृष्ठभूमिमा नाम दर्तामा आएका हुन् । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो ।

तर, त्यसमा धेरै जेनजी मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो । अध्यादेशअनुसार ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो । अध्यादेश आएपछि मात्रै झण्डै साढे ८ लाख मतदाता थपिए । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ छन् । अन्य ६१ रहेका छन् ।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।

नामावली संकलनमा उत्साह

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार जेनजी आन्दोलनपछि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूमा बढोत्तरी भएको हो ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । तत्कालीन प्रतिनिधि सभाबाटै अर्को सरकार बन्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ का लागि निर्वाचनको मिति तोकेका हुन् ।

निर्वाचनको मिति घोषणा भएपछि कात्तिक १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न दिइएको थियो । तर, जेनजीले नाम दर्ता गर्न बाँकी रहेको भनिएपछि अध्यादेशमार्फत पुन: समय दिइएको हो ।

अध्यादेश आएपछि जेनजी समूह र कतिपय राजनीतिक दलले समेत ठाउँ ठाउँमा स्टल नै राखेर नामावलीमा नाम दर्तामा सहयोग गरेका थिए ।

निर्वाचन आयोगका अनुसार मतदाताको संकलित विवरणमा सामान्य हेरफेर अझै हुन सक्छ । किनभने, दोहोरो परेको, मृत्यु भइसकेको र अन्य कारणले नाम हटाउन बाँकी भए उजुरी लिएर छानबिन गर्ने समय बाँकी छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, देशभरबाट संकलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।

नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिन्छ । प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन हुनेछ र पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशन हुँदा संख्यामा सामान्य हेरफेर मात्रै हुन सक्ने आयोगले जनाएको छ । बायोमेट्रिक विवरणसहित नामावली संकलन भएकाले धेरै त्रुटि नभएको आयोगको विश्वास छ ।

मतदाताको बढ्दो ग्राफ

पछिल्ला निर्वाचनहरूमा मतदाताको संख्या बढ्दो छ ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा मतदान योग्य मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ७ सय ३१ थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । जुन २०७४ सालको निर्वाचनमा भन्दा २५ लाख ६० हजार भन्दा बढी हो ।

यसपटक प्रतिनिधि सभाले पाँच वर्षे कार्यकाल पुरा नगर्दै निर्वाचन हुँदैछ । अघिल्लो निर्वाचनको ३९ महिनामै हुन लागेको फागुन २१ को निर्वाचनमा पनि १० लाख १६ हजार बढी नयाँ मतदाता थपिएका छन् ।

तथापि, २०६४ सालमा भन्दा २०७० सालको संविधानसभाको निर्वाचनमा भने मतदाताको संख्या घटेको थियो ।

निर्वाचन आयोगको तथ्यांक अनुसार २०६४ सालमा एक करोड ७६ लाख ११ हजार ८३२ मतदता थिए । २०७० सालको संविधान सभाको निर्वाचनमा यो संख्या घटेर एक करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता पुगे । जुन अघिल्लो निर्वाचनको भन्दा ५४ लाख ६३ हजार ९६७ जना कम थियो ।

यसको मुख्य कारण नामावलीमा आयोगले शुद्धिकरण गर्नु रहेको थियो । त्यसबेला  फोटो सहित नामावली संकलन गरिएको थियो । त्यसयताका निर्वाचनमा भने मतदाताको संख्याको ग्राफ बढ्दो छ ।

निर्वाचनमा नयाँ मतदाता कति निर्णायक ?

समाजशास्त्री सम्राट शर्माका अनुसार हरेक परिवर्तनपछि परिवर्तन पक्षधरले चुनाव जितेको इतिहास छ । यस्तो इतिहाससँग ठ्याक्कै मिल्दोजुल्दो अवस्था भने छैन ।

‘जेनजी आन्दोलनले जुन किसिमको परिवर्तन खोजेको छ र नयाँ मतदाता भोट हाल्दैछन्’ उनी भन्छन्, ‘विगत हेर्दा जति पनि परिवर्तनपछिका चुनाव भएका छन् त्यसबेला परिवर्तन पक्षधरले चुनाव जितेका छन् । चाहे २०४६ साल होस् चाहे २०६२/०६३ साल पछाडि होस् ।’

विगतका परिवर्तन पक्षधरहरू बैचारिक र सांगठनिक रुपले नै आएकाले मतदातालाई चिन्न सहज भएको तर, यसपटक त्यस्तो नरहेको पनि उनको व्याख्या छ ।

‘यसपटक पनि आन्दोलनको पक्षधरले निर्णायक मत हाल्दैछन् । तर, विगतमा जस्तो कुन नयाँ शक्ति कुन हो भन्ने प्रष्ट देखा परेको छैन । यसकारण यसपटक चुनावले अझ नयाँ अनुभव दिँदैछ ।’

समाजशास्त्री शर्माका बुझाइमा राजनीतिक दलहरूले नै युवा पुस्तालाई अगाडि सारेर मत तान्ने प्रयास गर्नेछन् । जेनजी आन्दोलनपछि उदाएका दलहरू पनि छन् । तथापि, पहिलोपटक मतदान गर्ने युवा मतदाताले चुनावको दिशा निर्धारण गर्न निर्णायक भूमिका खेल्ने उनको विश्वास छ ।

उनका अनुसार जेनजी आन्दोलनपछिको राजनीतिक परिप्रेक्ष्यमा पुराना मतदाताहरूको मनोविज्ञान परिवर्तन हुँदै गएको र नयाँ मतदाता पनि ठूलो संख्यामा थपिएकोले चुनावी परिणालाई अझ रोचक र अप्रत्याशित बनाउन सक्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय