अमेरिकाबाट डिपोर्ट भएर काठमाडौँ ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।
बुधबार साँझ चाटर्ड विमान मार्फत काठमाडौँ आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् ।
डिपोर्ट भएका मध्ये ३३ जना मानव तस्करको पञ्जामा परेर तल्लो बाटो हुँदै अमेरिका पुगेको थाहा भएको छ ।
एक जना विद्यार्थी भिसामा गएर काम गरेको भेटिएपछि डिपोर्ट भएका हुन् । अर्का एक जना भिजिट भिसामा गएर लुकेर बसेपछि डिपोर्ट भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । उनले भने, ‘उनीहरूलाई पठाउने गिरोहबारे हामीले सोधपुछ गरेका छौँ ।’
प्रहरीले उनीहरूलाई गिरोह विरुद्ध जाहेरी दिन आग्रह गरेको छ । डिपोर्टमा हुनेमा सबैभन्दा धेरै दाङ, रुकुम पूर्व र पश्चिमका छन् ।




