फाइनलमा चिर–प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै भारत नवौँपटक एसीसी एसिया कप च्याम्पियन बनेको छ । आइतबार राति युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा तिलक बर्माले अविजित ६९ रन बनाए । शिवम दुवेले ३३ र सञ्जु सामसनले २४ रन थपे ।

पाकिस्तानका फहिम असरफले तीन विकेट लिए । साहिन साह अफ्रिदी र अब्रार अहमेदले समान एक विकेट लिए । टस हारेर ब्याटिङमा आएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाएर १४६ रनको योगफल खडा गरेको हो ।

पाकिस्तानका ओपनर सहिबजादा फरहाने सर्वाधिक ५७ रन बनाए । उनले ३८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर फखर जमानले ४६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ९.४ ओभरमा ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछि मध्यक्रम र तल्लोक्रमका ब्याटरले निराशाजनक प्रदर्शन गर्दा पाकिस्तान बलियो योगफलसम्म पुग्न सकेन । सैम अयुबले १४ रन थपे । यसबाहेक, पाकिस्तानका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा रोक्न कुलदीप यादवले चार विकेट लिए । चार ओभर बलिङ गरेका कुलदीपले ३० रन खर्चिए । वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई विकेट लिए । यसै प्रतियोगितामा यी दुई टिमबीच दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय