
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफ्नो ‘प्लेअर अफ दी म्याच’ अवार्ड नेपालमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् । नेपालले शनिबार वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दा कप्तान रोहित प्लेअर अफ दी म्याच चुनिएका हुन् ।
वेस्ट इन्डिजविरुद्ध १९ रनको जितमा रोहितले ब्याटिङतर्फ ३८ रन र बलिङमा एक विकेट लिएका थिए । “निकै खुसी महसुस गरिरहेका छौँ । हामीले १५०–१६० को लक्ष्य राखेका थियौँ । हामीले उनीहरूलाई बलियो चुनौती प्रस्तुत गर्यौं । हामीले हाम्रो क्षमताको ८०–९० प्रतिशत देखाउन सक्यौँ । मेरो प्लेअर अफ दी म्याच नेपालमा जेनजी आन्दोलनमा गुमाएका सहिदहरूप्रति समर्पित गर्न चाहन्छु,” रोहितले भने, “हामीलाई यहाँ समर्थन गर्न आउनुभएकोमा सबैजनालाई धन्यवाद । तपाईंहरूलाई आज हामीले राम्रो उपहार दिन पायौँ जस्तो महसुस भइरहेको छ ।”