महाधिवशेन प्रतिनिधि १४ औं महाधिवेशनका यथावत् रहन्छन् । जेनजी आन्दोलनको माग अनुसार नयाँ नेतृत्व आउन सक्ने अवस्था रहेको हुँदा कतिपय नेताहरूले विशेष महाधिवेशनको माग गरेका छन् ।
विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर चुनावमा जान उपयुक्त हुने धारणा नेता तथा कार्यकर्ताले व्यक्त गर्न थालेका छन् ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आह्वान गर्न सकिने प्रावधान छ । विधानको दफा १७ को उपदफा २ मा ‘केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । विशेष महाधिवेशनका लागि प्रतिनिधि अघिल्लो महाधिवशेनकै हुनेछन् ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आह्वान गर्न सकिने प्रावधान छ । विधानको दफा १७ को उपदफा २ मा ‘केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा’ विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
अघिल्लो महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता डा.शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएको हुँदा विशेष महाधिवेनका लागि प्रतिनिधिको संख्या पुर्याउन कठिन देखिन्न ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
सहमहामन्त्री जीवन परियारले नेतृत्वको बर्हिगमनका लागि उपयुक्त विधि विशेष महाधिवेशन हुने बताए । उनी भन्छन्,‘यस कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरू आउन थालेको छ ।
विधानको यही दफा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु,’ सहमहामन्त्री परियारले भने ।
पार्टीमा भ्रातृ संस्थाले समेत विशेष महाविधेशनको वकालत गर्न सुरु गरेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ केन्द्रीय समिति, प्रदेश अध्यक्षहरू, पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको संयुक्त भर्चुअल बैठक बसेर विशेष महाधिवेशनको माग गरिएको उक्त संगठनका अध्यक्ष माधव चम्लागाईले जानकारी गराए ।
अपाङ्ग संघको बैठकले वडा देखि केन्द्रीय तहसम्म पुन:निर्माण, पुन:संरचना र रूपान्तरणका लागि तत्काल ठोस कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘यसका लागि अर्ली इलेक्सन वा विशेष महाधिवेशन मार्फत सुधार प्रक्रिया थालनी गर्नुपर्ने ठहर गरिएको छ । यसले युवापुस्तामा पार्टीप्रति विश्वास र आशा पुन:स्थापना गर्न मद्दत गर्ने विश्वास गरेका छौं,’ चम्लागाईंले भने ।
जिल्ला तहबाट पनि विशेष महाधिवशेनको माग गर्दै केन्द्रमा पत्र पठाउन सुरु गरिएको छ । जुम्लाको जिल्ला कार्यसमितिले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै विशेष महाधिवेशनको ध्यानाकर्षण पत्र पठाएको छ ।
बिहीबार पत्र पठाउँदै विशेष महाधिवेशनको माग गरिएको हो ।
‘तत्काल विशेष तथा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वको चयन गरी आउँदो फागुन २१ मा तोकिएको निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री स्पष्ट पार्दै तोकिएको व्यक्तिको नेतृत्वमा निर्वाचनमा जिम्मेवार तबरले सहभागिता जनाउनुपर्ने,’ पत्रमा लेखिएको छ ।
पटक पटक पार्टी र सार्वजनिक पदमा पुगेका व्यक्तिहरु जिम्मेवारीबाट अलग हुनुपर्ने पत्रमा लेखिएको छ । साथै, सार्वजनिक पदहरुमा कार्यकालको पटक समेत तोकिनुपर्ने जिल्ला कार्यसमितिको ठहर छ ।
काठमाडौ महानगर समितिले विशेष महाधिवेशनको माग गर्दै विज्ञप्ति निकालेको छ । महानगर सभापति नीलकाजी शाक्य र सचिव सुसन वैद्यले विज्ञप्ति निकालेर विशेष महाधिवशेनका माग गरेका हुन् ।
‘आजको यो विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयसापेक्ष बनाउन, युवा पुस्ताको भावनाको सम्बोधन गरि आगामी दिनमा अग्रणी पार्टीका रुपमा स्थापित गर्न तत्काल विशेष महाधिवेशन मार्फत पार्टिमा नयाँ नेतृत्व चयन गरी पार्टीको पुनर्जीवनका लागि पार्टि पुनर्गठन गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
बुधबार कांग्रेसका दुई दर्जन बढी युवा पुस्ताका नेताहरु भेला भएर पार्टी पुनर्गठनका लागि महाधिवेशन उपयुक्त विधि हुने ठहर गरेका छन् ।
भेलामा सहभागी नारायण भट्टराईका अनुसार पार्टीलाई पुर्नजीवन दिनका लागि पुर्नगठन अत्यावश्यक भएको हुँदा विधानले दिएको व्यवस्था अनुसार विशेष महाधिवेशन उपयुक्त विकल्प हुने बताए ।
बदलिँदो परिवेश र विशेष महाधिवेशनको मागलाई थप सशक्त बनाउन छलफल गर्ने गरी संविधान दिवसको दिन (असोज ३, भोलि) कांग्रेसका विभिन्न पक्षले भेला तथा बैठक आयोजना गर्ने भएका छन् ।