कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको हो ।
सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपाले जनाएको छ ।
सरकारमा सहभागी जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपनि कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारमा जसपा र नेकपा माओवादी केन्द्र सहभागी थिए । जसपा सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीलाई पनि नैतिक दबाब परेको छ ।
यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएकाे समर्थन फिर्ता लिने आग्रह गरेकाे थियाे ।
संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
केन्द्रको सत्ता समीकरणअनुसार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् भने एमाले र राप्रपा अर्कातिर छन् ।बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।
