हाल बेलायतको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लन्डन आएका मन्त्री साउदले शुक्रबार बकिङ्घम राजदरबारमा विदेशी पाहुनाका लागि आयोजित स्वागत समारोहमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका बेला त्यस्तो निम्तो दिएका थिए ।

लन्डनस्थित नेपाली दूतावास श्रोतले यस अघिका भेटहरुमा पनि नेपाली अधिकारीहरुले तत्कालिन ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई नेपाल भ्रमण गर्न निम्तो दिएको बताएका छन् ।

भारतीय मूलका पहिलो ब्रिटिश प्रधानमन्त्री सुनक ब्रिटेन तथा भारतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) गर्न प्रयासरत छन् । भारतमा अर्को वर्ष हुन गइरहेको आम चुनाव अगावै त्यस्तो सम्झौता गर्ने प्रयास भइरहेको र सम्झौताको मिति तय भएमा प्रधानमन्त्री सुनकले भारत भ्रमण गर्ने सम्भावना रहेको समाचारहरुमा जनाइएको छ ।

२०० वर्ष भन्दा लामो नेपाल-बेलायत सम्बन्धमा स्वर्गीय ब्रिटिश महारानी तथा राज परिवारका सदस्यहरुले नेपालको भ्रमण गरेको भएता पनि अहिलेसम्म कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । यो वर्ष नेपाल तथा बेलायतले दुइ देशबीच सन् १९२३ मा शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

परराष्ट्रमन्त्री साउदले बकिङ्घम दरबारमा आयोजित स्वागत समारोहमा राजा चार्ल्स तृतीय, राजपरिवारका सदस्यहरु, विदेशमन्त्री जेम्स क्लेभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसँग समेत भेटघाट गरेको लन्डनस्थित नेपाली दूतावासद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

परराष्ट्रमन्त्री साउद तथा उनकी पत्नी ज्योत्सना साउद शनिबार लन्डनको वेस्टमिन्स्टर आबी गिर्जाघरमा आयोजित राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएका थिए। उक्त समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै २ हजार बढी विशिष्ट पाहुनाहरू सहभागी थिए ।

परराष्ट्रमन्त्री साउदले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा बेलायती संसद्‌मा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड बिलिमोरिया तथा भूपू गोर्खा अगुवाहरुसँग पनि भेटघाट गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय