सरकारले मिटरब्याज पीडितलाई काठमाडौंमा दुःख पाएर नबस्न आग्रह गरेको छ। 

सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले समस्या समाधानका लागि प्रयास थालिसकेकाले घर फर्कन आग्रह गरेकी हुन्।

मिटरब्याज पीडितको अर्को टोली माग सम्बोधनका लागि काठमाडौं आएको बारे सोधिएको प्रश्नमा मन्त्री शर्माले देशभरकै समस्या समाधानका लागि सरकारले जाँचबुझ आयोग गठन गरेकाले दुःख नपाउन आग्रह गरेकी हुन्।

मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आयोग बनेको छ। सम्पूर्ण समस्या सदाका लागि समाधान गर्ने उद्देश्यले गठन भएको छ। जनकपुरमा मुख्यालय राखिएको छ।’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘समस्या खोज्न होइन समाधान गर्न आयोग बनाइएको हो । पीडितहरूलाई म आग्रह गर्न चाहन्छु काठमाडौंमा दुःख पाएर नबस्नु, घर फर्कनु।’

मिटरब्याज पीडितको समस्या छानबिन गरी तत्काल समाधान गर्ने कार्यादेशसहित सरकारले सोमबार विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो ।

सैद्धान्तिकभन्दा ठोस र व्यावहारिक पाटोबाट समस्या समाधान गर्ने कार्यादेश आयोगलाई दिइएको छ । पीडितहरू बारम्बार काठमाडौं आउन नपर्ने गरी कार्यालय जनकपुरमै राख्ने निर्णय गरिएको छ ।

आयोग सदस्यमा नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल छन् । आयोगलाई तीन महिनाको अवधि दिइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय