राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद तथा सुविधा प्राप्त गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीका शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार चौधरीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट जारी भएको भनिएका मार्कस स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट र कन्डक्ट सर्टिफिकेटलगायतका शैक्षिक कागजात झुटा तथा नक्कली रूपमा पेस गरेका थिए।
उनले ती प्रमाणपत्रहरू बढुवा तथा पदस्थापनको प्रयोजनका लागि प्रयोग गरी अनुसन्धान विभागमा उपसचिवसरहको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा लिएको आयोगको दाबी छ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै आयोगले चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
आयोगले उनीमाथि कानुनबमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ। अब यस मुद्दाको अन्तिम निरूपण विशेष अदालतबाट हुनेछ।
