राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग न्युयोर्कमा भेटवार्ता गरेका छन् ।
उपविदेश मन्त्री हुकरले हाल बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारहरूलगायत नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको हार्दिक सहानुभूति व्यक्त गरेका थिए ।
भेटवार्ताका क्रममा उपविदेश मन्त्री हुकरले आवश्यक नापअनुसार निर्मित स्थायी पुलहरूका लागि एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) को कोष उपलब्ध गराउने योजना रहेको बताएका थिए ।
बाढीबाट प्रभावित क्षेत्रहरूमा ती पुलले महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्स्थापना गर्नुका साथै क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्ने बताइएको छ ।
उपविदेश मन्त्रीले बाढीबाट प्रभावित समुदायहरूका लागि खानेपानी, स्वच्छता र सरसफाइका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका निम्ति थप ८० लाख डलर (करिब सवा अर्ब रुपैयाँ) को सहायता उपलब्ध गराउने योजनाको पनि घोषणा गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले भविष्यमा विपद् पुनःस्थापना प्रयासहरूमा अझ प्रभावकारी रूपमा सहयोग पुर्याउन डिजाइन गरिएका अमेरिकामा निर्मित ड्रोनहरूका लागि १ करोड ३० लाख अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) उपलब्ध गराउने योजना पनि बनाएको जनाइएको छ।
यो कोषको घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभ कार्यमा अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलर (करिब साढे ५ अर्ब रुपैयाँ) नाघेको छ । सहयोगको सर्वाधिक खाँचो भएका ठाउँको पहिचान गर्न र त्यहाँ सहायता पुर्याउन अमेरिकाले नेपालसँग निकट रूपमा सहकार्य गर्न जारी राख्ने जनाइएको छ ।
