रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुरिएको चारतले घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार (भदौ २०) दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी ६० वर्षीया श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
उद्धारमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले उक्त घरभित्रबाट महिला कराएको आवाज सुनेको थियो । त्यसपछि उनको उद्धार कार्य थालिएको थियो ।
उद्धार गरिएकी श्रेष्ठलाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
यही भदौ १० गते आएको बाढीका कारण उक्त घर पुरिएको थियो । बाढीको ११औँ दिनमा उनको उद्धार गरिएको हो ।



