मधेस प्रदेशसहित तराई क्षेत्रमा आज (वैशाख २) जुडशीतल पर्व मनाइएको छ । बिहानै ज्येष्ठ नागरिकले टाउकोमा पानी खन्याएर र शीतलता प्रदान गर्ने खानेकुरा खाएर पर्व मनाइएको हो ।
जुडशीतल पर्व मनाउन बिहान परिवारका कनिष्ठ सदस्यलाई शीतल पानीले जुडाइसकेपछि गाई, भैँसीलगायत जनावर र बारीमा भएका रुख बिरुवा समेतलाई जुडाउने गरिन्छ । यस क्षेत्रमा गर्मीबाट जोगिने प्रतिरक्षा स्वरुप जुडशीतल मनाउने गरिएको छ ।
‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर ‘जुडशीतल’ बनेको हो । जुडको अर्थ आशीर्वाद हो भने शीतलको अर्थ हो, शीतलता । वैशाखदेखि सुरु हुने असह्य गर्मी छल्न स्थानीयले खानपानसँगै जीवनशैली फेर्न जुडशीतल पर्व मनाउने गरिएको छ ।



