प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मुस्ताङका उम्मेदवार इन्द्रधारा विष्ट बुधबार बिहान पोखराको ताङ्वे टोलमा भोट मागिरहेका थिए । अलि अनौठो लागेर सोध्दा उनले भने, ‘पोखरा पूरै एक चक्कर लाइसकेँ । तनहुँ र बुटवल पनि जानु छ ।’
अहिले उनी आफ्ना मतदाता कुन घरमा बस्छन् भनेर खोज्दैमा हैरान छन् । चुनावले छपक्कै छोपिसकेको छ । मतदानको मिति आउन एक महिनामात्र बाँकी रहँदा सहरी र सुगम क्षेत्रका उम्मेदवारहरू निर्वाचन क्षेत्रभित्रै प्रचारप्रसारमा व्यस्त छन् । उनीहरू मतदाता भेट्ने र आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । गण्डकीका हिमाली जिल्लाका उम्मेदवारहरू भने मतदाता खोज्दै सहर छिरेका छन् ।
बसाइ सराइ र जाडो छल्न बेंसी झर्ने चलनका कारण गाउँमा मान्छे नभएपछि उम्मेदवार विष्ट पोखराका घरघरै मतदाता खोज्न दौडधुप गरिरहेका हुन् । आफ्ना मतदाता जाडो छल्ने निहुँ र व्यापार गर्न जिल्ला बाहिर गएपछि फोन सम्पर्क गर्नेदेखि आफन्त मार्फत खबर पठाउने काम गरिरहेका छन् उनले ।
हिउँदयाम दुर्गम हिमाली जिल्लाका लागि चुनाव गर्न उपयुक्त समय नभएको उनी सुनाउँछन् । मतदाताहरू छरिएर रहेका कारण उनीहरूलाई भेट्न र चुनावी अभियान गर्न सम्भव नभएको उनको अनुभव छ ।
‘मतदाता खोज्दै पोखराका घरघरै धाउनुपर्ने अवस्था छ । को कता छ भन्ने पनि थाहा छैन,’ विष्टले भने, ‘अझ हाम्रा मुस्ताङी त व्यापार गर्न इन्डिया पनि पुगेका छन् । मान्छेहरू कुन कुनामा छन्, थाहा नै हुँदैन ।’
वैशाखदेखि असोजसम्म मात्र हिमाली जिल्लामा चुनाव सम्भव हुने उनको भनाइ छ । मतदाता नभेट्ने समस्या त छँदैछ, सबैलाई बटुलेर गाउँ लैजानुपर्दा उम्मेदवारको खर्चले आकाश छुन्छ ।
‘भोटै उही नेताको लागि हो, उही नेताले लानुपर्छ भन्ने मानसिकता छ । त्यो भइसकेपछि त चुनाव एकदम महँगो र गाह्रो हुने भयो,’ विष्टले भने, ‘नेताका चुनावी एजेण्डा हेरेर भोट हाल्नेहरू एकदम कम छन् । अनि जिल्लाको प्रभावकारी विकास हुन सम्भव पनि छैन ।’
विष्टजस्तै गोरखा–१ बाट उम्मेदवारी दिएका प्रेमकुमार खत्री अहिले काठमाडौँमा निर्वाचन परिचालन समिति गठन गर्नेदेखि घर र व्यावसायिक प्रतिष्ठान छिरेर भोट माग्न व्यस्त छन् । यसपछि चितवन, पोखरा र अन्य ठाउँहरूमा पनि पुग्ने योजनामा उनी छन् । उनका अनुसार, पहाडी गाउँ रित्तिँदै गएका छन् ।
‘हाम्रा गाउँहरू रित्तै छन् । २० देखि २५ प्रतिशत मतदाता अहिले काठमाडौँमा बसोबास गर्छन्, कोही विदेशमा छन्,’ खत्रीले भने, ‘अब मतदाता नै यतै भएपछि भोट माग्न त आउनैप-यो । केही दिनपछि जिल्ला गएर बाँकी घरदैलो गर्छु ।’
गोरखाजस्तो ठुलो भूगोल भएको जिल्लाको निर्वाचन क्षेत्र विभाजन नमिलेको खत्री बताउँछन् । ‘भौगोलिक हिसाबले क्षेत्र जसरी टुक्र्याइएको छ, त्यो नै गलत छ । चुमनुब्री जस्तो गाउँपालिकामा घरदैलो गर्न दुई महिना लाग्छ, त्यसमाथि मतदाता सहरमा छन्,’ उनले थपे, ‘राज्यले कम्तीमा धार्चे र चुमनुब्रीलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्छ ।’
विशेष स्वायत्त क्षेत्र कायम गराउन पहल गर्ने उनको चुनावी एजेण्डा नै छ ।
लमजुङका पूर्वप्रदेश सांसद धनञ्जय दवाडी गाउँमा मान्छे नहुँदा चुनाव दलीय एजेन्डाभन्दा व्यक्तिगत बन्दै गएको बताउँछन् । यसकै कारण चुनाव महँगिएको उनको अनुभव छ । मतदाता गाउँमा नभेटेपछि काठमाडौँ, चितवन र पोखरा लगायत सहरमा सम्पर्क समाजको नाममा भेला गरेर भोट माग्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
३ दिन अघि लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङ–पोखरा सम्पर्क समाजको भेला डाकेर भोट मागे । मतदाता सहरमा बस्ने तर गाउँमै भोट हाल्ने प्रवृत्तिले विकास र जबाफदेहितामा समस्या भएको पूर्वप्रदेश सांसद दवाडीको तर्क छ ।
‘उनीहरू घर बनाएर सहरमा बसेका छन् । गाउँको आँगनको धारामा पानी सुकेको वर्षौं भयो, त्यसको पीर उनीहरूलाई छैन । तर, चुनावमा भोट हाल्न चाहिँ गाउँ जान्छन्,’ दवाडीले भने, ‘सहरमा बसेर गाउँको जनप्रतिनिधिले गरेका काम उनीहरूलाई मतलव छैन । एकदिन आयो, लहैलहैमा नेता चुन्यो, फर्कियो । अनि गाउँमा केही भएको छैन भनेर गफ गरेर कहाँ बन्छ समाज ?’
यस्तो समस्याको समाधान गर्न सरकारले नै कडा नीतिगत व्यवस्था गर्नुपर्ने सुझाए । ‘मेरो कुरा त प्रस्ट छ, जहाँ बसेर कर तिर्छौ, त्यहीँ नाम दर्ता गर । यसो गर्दामात्र जनप्रतिनिधि र मतदाताबिचको वास्तविक सम्बन्ध स्थापित हुन्छ ।’
मनाङमा मतदाता कम आउने देखेर नै उम्मेदवारहरूले चिठ्ठाबाट सहमति गरेका छन् । फागुन अन्तिमसम्म बेंसी झरेका मतदाता गाउँ फर्किन भ्याउँदैनन् । जसले गर्दा मत निकै कम खस्ने सम्भावना हुन्छ ।
मनाङमा कांग्रेस, एमाले र राप्रपाले मिलेर जाने सहमति गरेका हुन् । आसन्न चुनावमा एमाले र राप्रपाले कांग्रेसका टेकबहादुर गुरुङलाई सघाउने निर्णय गरेका छन् । त्यसो त, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार यशोदा सुवेदी पनि प्रतिस्पर्धामा छिन् । मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले पनि उम्मेदवार छन् ।




