सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विद्येयकको बिषय सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सहमतिमा टुंगो लगाउनका लागि प्रयास जारी छ । अन्तर्राष्ट्रिय समूदायको समेत चासो रहेको टीआरसीलाई सहमतिकै आधारमा टुङ्गोमा पु¥र्याउँदा सहज हुने सत्तारुढ दलको बुझाई छ । तर, दलीय सहमति कहिले जुट्ने ? प्रश्न दिन प्रतिदिन झन–झन पेचिलो बन्दै गएको छ ।
प्रमुख राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको टीआरसी विद्येयक लामो समयदेखि अलपत्र छ । २०७१ माघमा गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि अहिले निष्क्रिय अवस्थामा छन् । स्थापनाको ८ बर्षसम्म पनि यी आयोगले उजुरी संकलनबाहेक कुनै काम गर्न सकेको छैन् । सत्य निरुपण आयोगमा करिब ६२ हजार र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब २५ हजार उजुरी संकलन भएका छन् । यो बिषयमा बारम्बार अन्तर्राष्ट्रिय समूदायले चासो व्यक्त गर्दै आइरहेको छ । अझ, गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई समेत उन्मुक्ति दिनेगरि विद्येयक अघि बढाइएको आरोप सरकार र सत्तारुढ दलहरुमाथि लाग्दै आइरहेको छ । टीआसीमा नेपालका राजनीतिक दलहरु मात्रै होइन, अन्तर्राष्ट्रिय समुदायबाटै आलोचना भइरहेको छ । गएको भदौमा अन्तर्राष्ट्रिय न्यायिक अदालत (आईसीजे) ले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि यसबारे प्रश्न उठेको थियो ।
त्यस्तै गएको कार्तिक दोस्रो साता नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले टीआरसीलाई पीडितमैत्री बनाएर छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
यी बाहेक, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले सन् २०१४ जुनमा नेपाल सरकारलाई ‘टेक्निकल नोट’ पठाएर पीडकलाई उन्मुक्ति दिने गरी बनेका ऐनअनुसार गठन भएका आयोगलाइ सहयोग गर्न नसक्ने भन्दै आयोगको बैधानिकता माथि नै प्रश्न उठाएको थियो ।
२०१९ अप्रिल १२ मा संयुक्त राष्ट्रसंघका विशेष -यापोर्टरहरुले संक्रमणकालीन न्यायबारे संयुक्तपत्र पठाउँदै सर्वोच्च अदालतको आदेशबमोजिम तत्कालै कानून संशोधन गर्न सुझाएका थिए । उनीहरुले सन् २०१२ अक्टोबर २२, २०१४ जुलाई ३ र २०१७ जुलाई २७ मा पत्र पठाएर ऐनका प्रावधान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका बनाउन, गम्भिर मानवअधिका उल्लंघनमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन मिल्ने कानूनका प्रावधान सच्याउन र पीडितलाई ध्यानमा राख्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
सन् २०२० मा ओएचसीएचआरका तत्कालीन प्रवक्ता रूपर्ट कोलभिल्लेले नेपालसम्बन्धी ब्रिफिङ नोट जारी गर्दै यो प्रक्रियामा पीडितलाई केन्द्रमा राखेर कानून संशोधन गरेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । यी बाहेक अन्तर्राष्ट्रिय समुदायले टीआरसी विद्येयकका सन्दर्भमा बारम्बार चासो व्यक्त गर्दै आइरहेका छन् ।
संक्रमणकालीन न्याय प्रणाली नेपालको आन्तरिक मामला भएपनि यसमा नेपालका दलहरु आफैले यो विषयलाई गिजोल्दै अन्तराष्ट्रिय समुदाय गुहार्ने काम गर्दा टीआरसी लम्बेतान बनिरहेको छ । युद्धरत विभिन्न मुलुकले गरेको अभ्यास र अन्तराष्ट्रिय समुदायलाई अन्तिम साक्षी राख्नेबाहेकका काम नगरेपनि नेपालमा यस्तो हुन नसक्दा टीआरसी थप गिजोलिएको छ ।
