वर्तमान व्यवस्थाप्रति तीव्र जनआक्रोश रहेको भन्दै सक्रिय प्रतिगामी शक्तिहरु बीच नै मतभेद रहेको देखिएको छ । प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा पर्ने अवस्था आएको भन्दै केही साताअघि प्रधानमन्त्री प्रचण्डको आह्वानमा गणतन्त्र पक्षधर दलहरुबीच बैठक नै आयोजना गरिएको थियो । तर, गणतन्त्रको विरोधका साथै बैंकिङ ऋणको एजेण्डा लिएर मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा देखिएको क्रिया–प्रतिक्रियाले गणतन्त्र विरोधी शक्तिहरु नै एकठाउँमा नरहेको देखाएको हो ।
बिहीबारदेखि प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरुको साथ रहेको भनिएपनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रुपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् । बरु यही बीचमा राप्रपाले प्रसाईंलाई देखाइदिने शैलीमा शनिबार झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गरेको छ ।
आन्दोलनको पहिलो दिन बिहीबार हजारौँ समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुर्नस्थापनाको एजेण्डा पनि अघि सारेका थिए । जसअनुसार बिहीबार बल्खुमा भएको आन्दोलनमा राजतन्त्रको पक्षमा नारा घन्किएन मात्रै शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे । प्रसाईंको आन्दोलनमा राजवादीहरु नै पक्राउ पर्दासम्म पूर्वराजा नबोल्नुले उनको आन्दोलनप्रति पूर्वराजाको दृष्टिकोणबारे चासो राख्न थालिएको छ । उसो त आफूले राजतन्त्र पुर्नस्थापनाको एजेण्डासमेत उठाएकाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष समर्थन गरिदिनुपर्ने प्रसाईंले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
बिहीबारकै प्रदर्शनपछि साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा प्रसाईंले सके पूर्वराजा आन्दोलनमा समर्थन जनाउन आउनुपर्ने र त्यो पनि नसके समर्थनमा पत्रमात्रै भएपनि दिनुपर्ने धारणा राखेका थिए । तर, आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा प्रसाईंको मागअनुसार पूर्वराजाले न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् न त पत्र पठाएर कुनै समर्थन नै । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सहयोगमा भएको भनिएको झापाको कार्यक्रममा पूर्वराजा सहभागी भएका हुन् । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरुको उपस्थिति रहेको थियो । सो क्रममा पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भए भने सर्वसाधारणसँग भलाकुसारी पनि गरेका थिए ।
पूर्वराजा बिर्तामोडको कार्यक्रममा सहभागी हुने भएपनि थापासहित कोशी प्रदेशका विभिन्न गाउँबाट राजावादीहरुलाई उतारिएको थियो । सो क्रममा राजावादीहरुले विभिन्न ठाउँबाट ¥याली निकाल्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्नुका साथै काठमाडौँमा दुर्गा प्रसाईंले गर्दै आएको आन्दोलन भन्दा भव्य देखाउने प्रयास गरेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यक्रमलाई भव्य बनाउनका लागि अध्यक्ष लिङ्देन एक डेढ साता अघिदेखि पूर्वी नेपालमा सक्रिय रहेका थिए । लिङ्देनको गृहजिल्लासमेत रहेको झापामा योजनाअनुरुप भव्य कार्यक्रम भएको श्रेष्ठको भनाइ छ । पूर्वराजालाई स्वागत सडकमा स्वागत गर्दादेखि कार्यक्रमसम्मको अवधिमा राजावादीले ‘राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वर्तमान व्यवस्थाको विरोध गरेका थिए । राजावादीहरु पूर्वराजाले वर्तमान व्यवस्था र जारी आन्दोलनबारे झापामा केही बोल्ने अपेक्षा गरेपनि त्यहाँ समेत उनी मौन बसिदिए । कार्यक्रमको आतिथ्यता र शालिक अनावरण गर्नुबाहेक उनी प्रतिक्रियाविहीन भएका हुन् । तर, आफ्नो प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा पूर्वराजा सहभागी भएको विषयलाई लिएर राप्रपा उत्साहित देखिएको छ । राजावादी पार्टी र समूहभित्र कोचाहिँ पूर्वराजाको नजिक बन्ने भन्नेमा होडबाजी देखिन्छ । यस्तो अवस्थामा पूर्वराजाले आफ्नो पार्टीलाई विश्वास गर्दै झापा आएको बुझाइ राप्रपाको छ । उसो त लिङ्देनलाई दुई वर्षअघि भएको राप्रपाको महाधिवेशन नै पनि पूर्वराजा र निर्मलनिवासबाट प्रत्यक्ष सहयोग रहेको आरोप लागेको थियो । सोही विषयमा असन्तुष्टि जनाउँदै लिङ्देनसँग महाधिवेशनमा पराजित बनेका कमल थापाले सार्वजनिक आक्रोश पोख्दै पार्टी छाडेका थिए ।
राजतन्त्रको समेत एजेण्डा बोकेर दुर्गा प्रसाई आन्दोलनमा होमिएको बेला राप्रपाले घोषित रुपमा साथ नदिने बरु झापामा अर्को कार्यक्रम गरेर पूर्वराजालाई उपस्थित गराउनु आफैमा रोचक भएको कतिपयको भनाइ छ । झापामा ज्ञानेन्द्र शाहको उपस्थितिसँगै राप्रपाले आफूलाई असली राजावादी पार्टीजस्तो देखाएर दुर्गा प्रसाईंलाई पूर्वराजाको विश्वास नरहेको सन्देश दिन सफल भएको छ । प्रसाईंले व्यवस्था बदल्ने भन्दा अन्य स्वार्थमा गाउँगाउँबाट सर्वसाधारण उतारेको उसको बुझाइ छ । राप्रपाका नेताहरु राजतन्त्रका प्रमुख संवाहक आफ्नो पार्टीसँग राजतन्त्र फर्काउने एजेण्डामा प्रसाईले कुनै छलफल नगरेको बताउँछन् । यस्तै पछिल्लो समय राजतन्त्रको पक्षमा माहोल बढेपनि व्यवस्था नै बदल्ने गरि आधार तय नभएको समेत राप्रपाको बुझाइ छ ।
यता दुर्गा प्रसाईंको आन्दोलनबारे सुरुमा देशभर तीव्र चासो रहेपनि शनिबारसम्म आइपुग्दा शिथिल अवस्थामा आइपुगेको छ । आन्दोलनलाई सही गति दिन असफल प्रसाईंका लागि आफ्नै बोली महँगो बन्न पुग्यो । असंवेदनशील हुँदै राजनीतिक दलका नेताविरुद्ध आगो ओकलेका उनले नेतालाई जहाँ भेट्यो त्यही ठीक पार्नेसम्मको अभिव्यक्ति दिए । प्रसाईंको बेलगाम अभिव्यक्तिपछि शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शन प्रशासनले बिथोल्यो भने सुरक्षाका कारण देखाउँदै उनी भक्तपुरको ठिमीस्थित घरबाट समेत बाहिर निस्कन पाएनन् । प्रशासनसँगको छलफलपछि शनिबार भने उनको प्रदर्शन त भयो नै तर उपस्थितिको संख्या न्यून थियो । उनी आफैँले पनि त्यसको स्वीकार गरेका छन् भने उपत्यकाबासीले नै आन्दोलनमा साथ नदिएको गुनासो पोखेका छन् ।
सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । ‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।
यस्तै प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई समेत आग्रह गर्न भ्याए । ‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौँ । तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’ तर उनी राजावादीसँग भने असन्तुष्ट देखिए । ‘तपाईँहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर सही आन्दोलनलाई साथ दिनुहुन्न’, उनको गुनासो थियो ।
उनले राजावादीलाई राजावादी नभएर अब आफूहरुको आन्दोलनमा राष्ट्रवादी हुँदै नेपालको झण्डा बोकेर आउन पनि आह्वान गरे । नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो । ‘कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो, यो समय मुना चियाको हो । अहिले यो समय दुर्गा पसाईंको हो । देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ।’, उनको दाबी थियो । प्रसाईको आन्दोलन तीन दिनको बीचमा शिथिल अवस्थामा देखिएको छ भने राप्रपा पनि आफ्नै ढंगले अघि बढ्न खोजेको देखिन्छ ।
