ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र लिलामणि पौडेलले आफ्नो भूमिकाबारे सार्वजनिक प्रतिक्रिया मात्र दिएका छन्, उनीहरुको भूमिकाप्रति कुनै निकायले छानबिन र अनुसन्धानसमेत गरेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्रीद्वय मुद्दा नचलाएको भन्दै न्यौपानेले सर्वोच्चमा रिट दिएका थिए ।
त्यतिबेला सर्वोच्चले उनीहरुसँग लिखितजवाफ पनि मागेको थिएन । यसपटक भने दुई पूर्वप्रधानमन्त्री र पूर्वमुख्यसचिवले सर्वोच्च अदालतमा आफ्नो प्रतिरक्षा गर्नुपर्ने भएको छ । न्यायाधीश विनोद शर्माको इजलासले थप दुई आदेश पनि गरेको छ । उसले पूर्वप्रधानमन्त्रीद्वयलाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने भनी माग गरिएको मुद्दालाई पछिल्लो मुद्दासँग साथै राखेर पेश गर्न आदेश दिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा थुनामा परेका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको मिसिल पनि झिकाउन आदेश दिएको छ । २१ साउन २०८० मा पौडेलको मुद्दामा अन्तिम निर्णय सुनाउदै सर्वोच्च अदालतले निर्णायक तहका पदाधिकारीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।
त्यतिबेला सर्वोच्च अदालतले तल्लो तहका कर्मचारीहरुमाथि मात्रै अनुसन्धान भएको देखिएको भन्दै पदसोपानको माथिल्लो तहमा पनि अनुसन्धान केन्द्रित गर्न आदेश दिएको थियो । तर किर्ते प्रकरणमा अनुसन्त्रधान गरिरहेको सीआईबीले तीनैजजनासँग बयान नै लिएन । बयान लिएमा सरकारी वकिलले मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नुपर्ने परिस्थिती आउने भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले साक्षीको रुपमा ‘मौकाको कागज’ गराएर उनीहरुलाई अनुसन्धानको दायराबाहिर राखेका थिए ।
पूर्व महान्यायाधिवक्ता रमेश बडाल यो आदेशले राजनीतिक शक्तिको बलमा फौजदारी न्याय प्रक्रियालाई अवरोध गर्न नसकिने पुष्टि भएको बताउँछन् ।
‘यसअघि पनि तमाम यस्ता घटनामाथि न्यायिक परीक्षण भएर कतिपय निर्णय उल्टिएका थिए, यो पछिल्लो उदाहरण हो’, उनी भन्छन्, ‘प्रमुख दलहरु बसेर यसो हुने, फलानालाई बयान नलिने भनेका भरमा प्रहरीले कामकारवाही गरेको थियो, अब त्यसको परीक्षण हुनुपर्छ ।’
