शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघका नेताहरु शुक्रबार मध्यरातिसम्म छलफलमा व्यस्त थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी बालुवाटारस्थित प्रधानमन्त्री निवास गएका थिए । शुक्रबार राति पौने ८ बजे प्रधानमन्त्री निवास प्रवेश गरेका उनीहरू सवा ११ बजे बाहिरिएका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन प्रक्रियामार्फत् जतिसक्दो छिटो जारी गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । त्यसका लागि आज प्रधानमन्त्री ओलीले शिक्षा समितिका सांसद, शिक्षा मन्त्री र सत्तारूढ दलसँग छलफल गरेर टुंगो लगाउने आश्वासन दिएका थिए ।

‘प्रधानमन्त्री चितवन जानुभएको रहेछ । केहीबेर प्रधानमन्त्रीले पनि आराम गर्नुभयो । हामी पनि प्रधानमन्त्रीकै कार्यकक्षमा बस्यौ । त्यसपछि प्रधानमन्त्रीसँग डेढ घण्टा जति कुरा भयो । हामीले हाम्रो कुरा राख्यौं । उहाँले वर्षे अधिवेशनमा शिक्षा विधेयक टेबल गर्ने भन्नुभएको छ,’ शिक्षक महासंघकी सहअध्यक्ष एवम् आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले भनिन्, ‘प्रधानमन्त्रीज्यूले आज सबैसँग छलफल गर्ने भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीको भनाइमा शिक्षक महासंघका नेताहरु आश्वस्त हुन सकेनन् । त्यसपछि उनीहरु राति नै सभामुख देवराज घिमिरेलाई पनि भेट्न गएका थिए ।

शिक्षक महासंघका नेताहरु सभामुखको निवास पुग्दा राति पौने १२ बजेको थियो । सभामुखले विषयगत समितिले चाँडो ल्याउन बारम्बार आफूले भनेको बताएका थिए ।

‘उपसमितिले ११ गते काम सकाएर ल्यायो भने र १२ गते संसदमा टेबल भयो भने १३–१४ गते नै सकाउँछु भनेर सभामुखज्युले भन्नुभयो,’ पराजुलीले भनिन् ।

सरकारले वैशाख १२ गतेदेखि सुरु हुन लागेको बजेट अधिवेशनबाटै शिक्षा ऐन जारी गर्ने भन्दै शिक्षक महासंघलाई आन्दोलन अन्त्य गरेर विद्यालय फर्किन भनेको थियो । तर सभामुख घिमिरेले कहिले कोरम नपुग्ने र कहिले बैठक नबस्ने गर्दा यही अवस्थामा बजेट अधिवेशनबाट शिक्षा ऐन जारी नहुने अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेले शुक्रबार राति शिक्षक महासंघका नेताहरुसँग पनि सोही कुरा प्रष्ट्याएका थिए ।

त्यसैले शिक्षक तथा कर्मचारीहरुले आन्दोलन आज पनि जारी राख्ने निष्कर्ष निकालेका छन् ।

आन्दोलन परिचालन समिति संयोजक पराजुलीले शिक्षक तथा कर्मचारीहरुको आन्दोलन आज पनि जारी रहने बताइन् । ‘प्रधानमन्त्रीले आज सबैसँग छलफल गरेपछि के कुरा आउँछ त्यसपछि हेर्नपर्छ,’ उनले भनिन्, ‘हाम्रो आन्दोलन रोकिँदैन ।’

मन्त्रिपरिषद र मन्त्रालयले निर्णय गरेमा पनि आन्दोलनको स्वरुप परिवर्तन गर्न महासंघका नेताहरु लचक छन् । तर शिक्षा मन्त्रालयले सर्तसहित क्याबिनेटबाट पास गर्ने प्रस्ताव गरेकाले पनि कुरा मिलेको छैन । ‘निःसर्त हुनुपर्छ, भन्ने हाम्रो माग हो,’ पराजुलीले भनिन् ।

शिक्षक कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरु २० चैतदेखि सडक आन्दोलनमा छन् । उनीहरुले २५ चैतदेखि शैक्षिक हड्ताल समेत घोषणा गरेर आन्दोलन जारी राखेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।

आन्दोलनले ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षा पनि प्रभावित हुने चिन्ता छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समय तालिका अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय