
नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहका विष्णु रिमाल र राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबिच आरोप प्रत्यारोप जारी छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर दुई नेताबिच सुरु भएको वाकयुद्ध मंगलबार पनि राेकिएकाे छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजा शाहलाई स्वागत गर्ने क्रममा राप्रपाका एक कार्यकर्ता प्रदीपविक्रम राणाले मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित बोर्ड प्रदर्शन गरेका थिए ।
सोही तस्बिरलाई रिमालले ‘राष्ट्रवादी महोदयहरूले र्यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेका थिए ।
सोमबार बिहान प्रवक्ता शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाउन पुगे ।
‘हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ’, शाहीले सोमबार लेखेका थिए, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः! विदेशीको एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन् ।’
शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे ।
‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्,’रिमालले लेखेका छन्, ‘दलालहरू पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ।’
मंगलबार पुन शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिए । ‘आदरणीय भनौँ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ, प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस्’, मंगलबार बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले लोकतन्त्रको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? भन्ने प्रश्न गरे ।
‘के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्’, शाहीले लेखेका छन् ।