जिल्ला प्रहरी परिसर काठमाडौंले आफू मातहतका प्रहरी वृत्तहरूको मासिक रिपोर्ट कार्ड तयार पार्न शुरू गरेको छ ।

परिसर मातहत रहेका १४ वटा वृत्तहरूको कार्यप्रगति विवरण हेरेर रिपोर्ट कार्ड तयार पार्न लागिएको हो ।

प्रहरी प्रधान कार्यालयले यही पुस २ गतेदेखि ७ वटा प्रदेश, ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयको मासिक रिपोर्ट कार्ड बनाउने कार्यविधि बनाएसँगै परिसरले पनि कार्यविधि अवलम्बन गर्न लागेको हो ।

प्रहरी वृत्तहरू क्रमश: महाराजगञ्ज, बौद्ध, गौशाला, बानेश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भू, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालीगाउँले महिनाभरि गरेका कामको मूल्यांकन पद्धति बसाल्न लागिएको परिसर प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दिए ।

अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, तस्करी नियन्त्रण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, समन्वय एवं सहकार्य, समुदाय प्रहरी साझेदारी, सिर्जनात्मक कार्य, प्रहरीलाई जग्गा प्राप्ति, कार्यालयको भाैतिक संरचना निर्माण, मर्मत र सुधार, कर्मचारी व्यवस्थापन, प्रहरीलाई स्रोतसाधन प्राप्ति, भदौ २३ र २४ गतेको प्रदर्शनपश्चातको कारबाही, फिल्ड स्तरको अपरेसन र प्रहरी कर्मचारी उत्प्रेरणालाई मूल्यांकनको प्रमुख आधार बनाइएको छ । मुख्य १५ शीर्षकका कार्यमा १७ वटा जिम्मेवारीलाई अंक प्रदान गरिने छ । यसरी दिइने अंकको कुल पूर्णाङ्क ८५ तोकिएको छ ।

कर्मचारी व्यवस्थापनतर्फ परिसरभित्र र बाहिर सरुवा भएका कर्मचारीको रवाना गर्दा पूर्णाङ्क ५/५ मानेर अंक दिइने छ । त्यस्तै, अपराध नियन्त्रणतर्फ हराएका/चोरी भएका सवारीसाधन खोजतलास र उक्त सवारी धनीलाई बुझाउँदा पनि क्रमश: ५/५ पूर्णाङ्कमा अंक दिइने छ ।

त्यस्तै, हराएका मानिस फेला पार्ने वृत्तलाई पनि मूल्यांकन अंक दिइने उल्लेख छ । फरार प्रतिवादी पक्राउ गर्दा १० वर्षदेखि आजन्म कैद ठेकिएका, (तीन वर्षदेखि १० वर्षसम्म कैद ठेकिएका) र सामान्य कसुरमा (कम्तीमा तीन वर्ष कैद ठेकिएका) अपराधी पक्राउ गर्दा ५/५ पूर्णाङ्क मानेर अंक प्रदान गरिने कुरा रिपोर्ट कार्डमा उल्लेख छ ।

रिपोर्ट कार्डमा अपराध अनुसन्धानतर्फ चालु मुद्दा फर्स्यौट गर्नेलाई ५ पूर्णाङ्क, पेन्डिङ मुद्दा फर्स्यौट गर्नेलाई र ठाडो उजुरी फर्स्यौट गर्नेलाई क्रमश: ५/५ पूर्णाङ्क मानेर अंक प्रदान गरिने छ ।

त्यस्तै, भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात प्रहरीले गरेका कारबाहीलाई पनि मूल्यांकन गरेर अंक दिने व्यवस्था गरिएको छ, जसमा फरार भएका थुनुवा पक्राउ र फरार कैदीबन्दी पक्राउ गरेमा क्रमश: ५/५ पूर्णाङ्कमा अंक दिइने छ ।

फिल्ड स्तरका अपरेसनअन्तर्गत महिनामा एकपटक ‘स्वीप अपरेसन’ गर्नेलाई ५, महिनामा चारपटक कर्डन अपरेसन गर्नेलाई ५ र होटल तथा लजमा महिनाको चारपटक छापा मारेमा ५ पूर्णाङ्क मानेर अंक दिइने कुरा रिपोर्ट कार्डमा उल्लेख गरिएको छ ।

प्रत्येक शीर्षकमा ५ अंक (असाधारण काम) पूर्णाङ्क हो । यसलाई शतप्रतिशत मानिन्छ । ४.५ अंकलाई सर्वोत्कृष्ट (९० प्रतिशत कार्य), उत्कृष्टलाई ४ नम्बर (८० देखि ८९ प्रतिशत), उत्तम कार्यलाई ३.५ अंक (७० देखि ७९ प्रतिशत), सन्तोषजनक कार्यकलाई ३ अंक (६० देखि ६९ प्रतिशत), स्वीकारयोग्य कार्यलाई २.५ (५० देखि ५९ प्रतिशत), आधारभूतलाई २ अंक (४० देखि ४९ प्रतिशत), सामान्यलाई १.५ (३० देखि ३९ प्रतिशत) र सबैभन्दा कम १ अंक (२९ प्रतिशतभन्दा मुनि) दिइन्छ । एक अंक पाएकाले सुधार गर्नुपर्ने हुन्छ ।

परिसर प्रवक्ता भट्टराईका अनुसार प्रहरी मुख्यालयले बनाएको कार्यविधिअनुसार परिसरले पनि रिपोर्ट कार्ड बनाएर मातहतका वृत्तको मूल्यांकन गर्न थालेको हो ।

‘प्रहरी वृत्तहरूबीच पहिला पनि अनुगमनपछि मूल्यांकन हुन्थ्यो, तर अहिले परिस्थिति फेरिएको छ, अपराधका नयाँ आयाम छन्,’ भट्टराईले भने, ‘कमान्डरलाई जवाफदेही बनाउन अब सबै वृत्तहरूको रिपोर्ट कार्डअनुसार क्रियाकलापको मूल्यांकन हुन्छ ।’

प्रहरीले भएका स्रोत साधनको उच्चतम प्रयोग गरी सर्वसाधारणको पीरमर्का र गुनासो सम्बोधन गर्ने अभिप्राय अनुरूप मासिक रिपोर्ट कार्ड बनाएर मूल्यांकनको थिति बसाल्न थालिएको प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले लोकान्तरसँग भने, ‘मूल्यांकन पद्धतिलाई कसैले पनि हाउगुजी बनाउनुपर्ने छैन । प्रहरीलाई अझ बढी सबलीकृत र चलायमान बनाउन यो अभ्यास शुरू भएको हो, यो पद्धतिले काम गर्ने राम्रा अधिकृतहरूको पनि पहिचान हुन्छ र संगठन सुधारमा पनि यसले राम्रो टेवा पुग्छ ।’

प्रहरी मुख्यालयका अनुसार पुसदेखि नै ७ प्रदेश र ७७ वटै जिल्ला प्रहरी कार्यालयले मासिक कार्य प्रगति सार्वजनिक गर्नुपर्ने हुन्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय