मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको प्रस्ताव छलफलका लागि लैजान लागेका हुन् ।
आफूले तयार पारेको प्रस्तावबारे पोखरेलले अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।
‘आज अध्यक्ष ओलीसँग आफ्नो डकुमेन्टबारे नेता पोखरेलले छलफल गर्दै हुनुहुन्छ’, पोखरेल निकट एक नेताले भने, ‘राजनीतिक प्रस्तावकै रूपमा तयार भैसकेको प्रस्ताव छ । एक पटक अध्यक्षलाई देखाउने र महाधिवेशनमा पेस गर्ने कुरा भइरहेको छ ।’
पोखरेलले तयार पारेको प्रस्तावमा जेनजी आन्दोलन अघि र पछिको मुलुकको राजनीतिक अवस्था र त्यसको समीक्षा, पार्टी पुनर्गठन र लोकतान्त्रीकरणको सन्दर्भ, अहिलेको अवस्थामा पार्टीले लिनुपर्ने नीति र देशलाई दिनुपर्ने निकास, नवयुवाहरूको मनोभावना र पार्टीले लिनुपर्ने बाटो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई समेटिएको छ ।
पोखरेल पक्षले पार्टीमा भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै आएको छ । साथै सो समूहले एमालेले विकसित परिस्थितिमा एमालेको नयाँ कार्यदिशा बन्नुपर्ने जोड दिए पनि अध्यक्ष ओली त्यसलाई स्विकार्न तयार भैसकेका छैनन् ।
गत भदौ २० देखि २२ गतेसम्म भएको एमाले विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेज पारित गरेको थियो । तर ती प्रतिवेदनहरूमा सुधार गर्नुपर्ने भएकाले थप छलफल हुनुपर्ने आवश्यकता रहेको पोखरेल समूहको भनाइ छ ।




