
एकसाता अघिसम्म सर्वशक्तिमान रहेका केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड अहिले सडकमा बजारिन पुगे । भदौ २३ र २४ गते जेनजी आन्दोलनले यी तीन नेता सहित अन्य दर्र्जानौं नेतालाई घरवासविहीन बनाइदियो । निवर्तमान प्रधानमन्त्री ओली नेपाली सेनाको घेरा बाहिर आउन सकेका छैनन् ।
देउवा दम्पत्ति अस्पतालमै छन् । माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक भएका त छन्, तर खुलेर हिड्न सक्ने अवस्था छैन । घरवासबाटै उठिवास लागेपछि अब के कदम चाल्ने योजनामा छन्, त नेताहरु ?
चप्पल पड्काउँदै काठमाडौँ भित्रिएका नेताहरुको विलाशी जीवनशैलीबारे नेपाली समाजमा ठुलै बहस नभएको होइन् । कति त यहि मुद्धा बोकेर समाजमा स्थापित समेत बने । नेपाली समाजमा नेताको जीवनशैली अस्वभाविक बनेको भन्दै पटकपटक आन्दोलन पनि भए । तर, भदौँ २३ र २४ को जेनजी आन्दोलनले नेताको मुकुण्डो उतारिदियो ।
अझ भनौँ साँच्चिकै नेपालका शासक र उच्चपदस्थ भ्रष्ट रहेछन् भन्ने प्रमाणित भयो । देउवा निवास, दिपक खड्का देखि प्रचण्डको घरमा जलेको सम्पतिले त्यो पुष्टि गर्छ पनि ।
वरिपरि लावालस्कर सुरक्षा घेराका विच देश लुटेको भन्दै जेनजी युवाले निजी निवास नै जलाइदिएपछि यतिबेला दर्जनौ नेता घरबार विहिन मात्रै बनेका छैनन् सुरक्षा थ्रेटको समेत महसुस गरिरहेका छन् ।
पाँच पूर्वप्रधानमन्त्री महलदेखि सडकमा !
तीन दशक यता नेपाली राजनीतिको केन्द्रमा रहेका र पटकपटक प्रधानमन्त्री बनेका अनुहार हुन्, शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल । भदौँ २४ को जेनजी आन्दोलनका क्रममा यी पुर्वप्रधानमन्त्रीको निवासमा आगजनी गरियो र जलेर धोस्त भए ।
यतिबेला उनीहरु घरवास विहिन बनेका छन् । उनीहरुको वासस्थानको समेत अन्योलता बढेको छ । निवर्तमान प्रधानमन्त्री ओली अहिलेपनि सेनाको सुरक्षा घेरामा छन् । कांग्रेस सभापति देउवा दम्पत्ति उपचारार्थ छन् । प्रचण्ड, बाबुराम, माधव र झलनाथ भने आफन्तको घरमा बस्न बाध्य छन् । अब यी सबै शीर्ष नेताहरुले तत्काललाई डेरामा बस्नुपर्ने भएको छ ।
आफ्ना घर जलेर खरानी बनेपछि शिर्ष नेताका अलवा अन्य पुर्वमन्त्री तथा उच्चपदस्थहरु रोडमा पुगेका छन् । एमालेमा पृथ्वी सुब्बा गुरुङ्ग, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, गोर्कण विष्ट, सूर्य थापा, कोमल ओली सहितका नेताहरु डेराको खोजीमा छन् ।
कांग्रेसमा पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दिपक खड्का, रमेश लेखक, विनोद चौधरी सम्मका नेता डेरा सर्न बाध्य हुँदा माओवादीमा प्रचण्डपुत्री गंगा दाहाल, नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुवोध), रामनारायण बिडारीको समेत उहि हाल छ ।
यतिका नेताहरु घरविहिन बनेर डेरा सार्नुपर्ने अवस्था सिर्जना भएपनि नेताहरुको घैटोमा घाम भने लागेको देखिदैन् । अझ उहि पुरानै रवाफमा उठ्ने दाबी गरिरहेका छन् ।
यद्यपी, केहि आत्मालोचना भने नेताहरुमा देखिएका छ । नेपालको राजनीतिक उथलपुथलले नेताहरुलाई डेरा खोज्नुपर्ने अवस्थामा पुर्याउँदा मुलुकको अवस्था भने केहि सामान्य बन्दै गएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विस्थापित भएका नेताको आवास र सुरक्षाको जिम्मेवारी लिनेमा विश्वास उनीहरुको छ । त्यतिन्जेल आफन्तको घरमा पाउना बस्ने ध्याउन्न देखिन्छन्, नेताहरु ।