सत्ताको बागडोर सम्हालेकै बेला जेन–जी आन्दोलनले प्रधानमन्त्री निवास बालुवाटारबाट भागेर सेनाको शिवपुरी क्याम्पमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेबारे पार्टीमा बहस शुरु भएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले नेतृत्व विरुद्ध टिप्पणी नगर्न निर्देशन दिए पनि पछिल्लो समय नेताहरुले भने खुलेरै पार्टी पुनर्गठनको आवाज उठाई रहेका छन् । भदौ २४ गते दिउँसो सुरक्षित स्थानका लागि भन्दै सेनाले हेलिकोप्टरबाट उद्धार गरि शिवपुरी पु¥याएको थियो । ओली अहिलेसम्म पनि सार्वजनिक भएका छैनन् ।

साँघुरो घेरा भित्र आफुलाई राख्दै पार्टीलाई ब्यक्तिगत सम्पत्तिझैं प्रयोग गरेकै कारण जेन–जी आन्दोलनबाट ओली सत्ताच्युत हुन पुगेको एमालेका दोस्रो तहका नेताहरुको बुझाइ छ । सत्ताको बागडोर आफैले सम्हालेको अवस्थामा समेत प्रधानमन्त्रीकै निवास बालुवाटारबाट ओली भाग्नु प¥यो ।

ज्यान जोगाउनकै लागि सेनाको हेलिकप्टर मगाउँदासमेत ओलीले राजीनामा नदिँदासम्म सेनाले उद्धार गर्न मानेन । अन्ततः राजीनामा दिएर बालुवाटारबाट लेखेटिएका ओली अझैसम्म पनि सार्वजनिक हुन सकिरहेका छैनन् । ओलीकै कारण अहिलेको अवस्था आएकोले पार्टी पुर्नगठन गर्नुपर्ने पुष्टि गरेको नेताहरुको तर्क छ ।

भदौ २३ गतेको युवा प्रदर्शन दबाउन प्रहरीले फायर खोल्यो । प्रहरीको गोलि लागेर १९ जना मारिए । यो घटनालाई ओलीले गम्भिर रुपमा लिन चाहेनन् । जसको कारण २४ गते देशमा ध्वसांत्मक अवस्थाको सिर्जना भयो ।

एमाले अध्यक्ष ओलीले नै ससरकारको नेतृत्व गरिरहेकै बेला यस्तो अवस्था निम्तिएको भन्दै पार्टीमा गम्भिर समिक्षा हुनुपर्ने एमाले नेताहरु बताउँछन् । विगतमा पार्टी र विधान भनेकै ओली र ओली भनेकै पार्टी र विधान भएकै कारण मुलुक दुर्घटनामा परेको उनीहरुको तर्क छ ।

एमाले भित्र पार्टी पुर्नगठनको बिषयलाई लिएर चर्काे स्वर उठ्न थालेपछि पार्टीका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वको बिरोध नगर्न निर्देशन नै दिएका छन् । एमाले नेता समेत रहेका महेश बस्नेतले ओलीलाई राष्ट्रिय ‘बा’ भएको घोषणा गर्दै ओली नै एमालेको नेतृत्वमा रहने सन्देश दिइरहेका छन् ।

तर एमाले भित्रका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु भने अहिले ओलीको बिकल्प खोज्नु पर्ने बताइरहेका छन् । जेनजी आन्दोलनले एमाले मूख्यालय च्यासल भग्नावशेषमा परिणत भएको छ । त्यसैले अहिले खरानी उठाएर पार्टी ब्यवस्थापन गर्नुपर्ने चुनौति रहेको कतिपय नेताहरुको भनाई छ ।

गत विधान महाधिवेशनमा आफ्नो प्रस्तिस्पर्धी हुने देखिएपछि ओलीले नै पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता समेत नविकरण हुनबाट रोकेका थिए ।

ओलीको बिरोध गर्ने नेताहरुलाई घेराबन्दीमा पार्दै विधानमा रहेको उमेरहदलाई नै हटाएर आगामी महाधिवेशनबाट पुनः ओली नै पार्टी अध्यक्ष हुने बाटो खुला गरिएको थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनले नेतृत्व तहमा अस्वीकृत गरिदिएको छ । तर पनि ओलीले  नैतिकताको आधारमा राजीनामा समेत दिएका छैनन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय