भारतको केरला राज्य नजिकै अरबी समुद्रमा लाइबेरियाको मालवाहक जहाज एमएससी ईएलएसए–३ डुबेको छ । जहाज डुबेपछि तेल र रसायन चुहावटका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
डुबेको जहाजबाट फर्नेस आयल र डिजेल चुहिएको आशंका गरिएको समाचारमा उल्लेख छ । दक्षिण-पश्चिमी मनसुनको तीव्रताका कारण अहिलेसम्म भएको क्षतिको तत्काल मूल्याङ्कन गर्न सकिएको छैन । लाइबेरियाली झण्डा भएको कार्गो जहाजमा जम्मा ६४३ कन्टेनर थिए, जसमध्ये ७३ वटा खाली थिए। यी कन्टेनरहरूमध्ये १३ वटामा क्याल्सियम कार्बाइड रसायन थियो, जसबाट एसिटिलीन ग्यास निस्कन्छ।
यसबाहेक, जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल पनि लोड गरिएको थियो।
यस खतरालाई ध्यानमा राख्दै केरला सरकारले राज्यका तटीय जिल्लाहरूमा सतर्कता बढाएको छ।
सरकारले मानिसहरूलाई जहाज डुबेको ठाउँबाट २० समुद्री माइलको दायराभित्र माछा मार्ने काम नगर्न चेतावनी दिएको छ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणले माझीहरूलाई समुन्द्रले बगाएको कन्टेनरको नजिक नजान आग्रह गरेको छ ।
सोमबार भारतीय तटरक्षकले २४ सदस्यीय जहाजको चालक दलका बाँकी तीन सदस्यहरूलाई उद्धार गरेको थियो, जसमा कप्तान र इन्जिनियर पनि समावेश थिए। शनिबार जहाज एकातिर ढल्केको र डुबिरहेको देखिएपछि यो उद्धार कार्य शुरू भएको थियो।
१.५ समुद्री माइलको क्षेत्रमा तेल चुहावट देखिएको छ, जुन पछि २.२ समुद्री माइलमा फैलिएको समाचारमा उल्लेख छ । यो फैलिरहेको प्रदूषण नियन्त्रण गर्न मुम्बईबाट एउटा विशेष जहाज पठाइएको छ, जसले यस कार्यमा मद्दत गर्नेछ।
जहाज अलाप्पुझा जिल्लाको थोट्टापल्ली बन्दरगाहबाट १४.६ समुद्री माइल टाढा अरब सागरमा डुबेको थियो।
प्रदूषण नियन्त्रण बोर्डअन्तर्गत कारखानाका दुई द्रुत प्रतिक्रिया टोलीहरू पहिले नै कन्टेनरहरू किनारतिर तैरिएमा व्यवस्थापन गर्न तयार राखिएको छ। जहाज एकातिर ढल्कँदा करिब १०० कन्टेनर समुद्रमा खसेको र मनसुनी वर्षाका कारण अहिले तटतिर सर्दै गरेको आधारमा यो तयारी गरिएको हो।
यदि कन्टेनरहरूबाट रसायनहरू समुद्रमा पोखिए अर्को ६ देखि १२ महिनासम्म क्षेत्रको निगरानी गर्नुपर्नेछ। किनभने क्याल्सियम कार्बाइडजस्ता रसायनहरू जलीय प्रणालीमा घुल्न समय लाग्छ। रसायनहरू माछाको शरीरमा पुग्न सक्ने बलियो सम्भावना हुन्छ। त्यसपछि माछा मार्नेहरूले केही समयको लागि प्रभावित क्षेत्रमा माछा मार्ने काम बन्द गर्नुपर्ने समाचारमा उल्लेख छ ।
क्याल्सियम कार्बाइड भएका १३ वटा कन्टेनर पानीको सम्पर्कमा आएमा एसिटिलीन ग्यासजस्तै विस्फोट हुन सक्ने अनुमान पनि गरिएको छ।





