
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् ।’उनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उनले भने ।
केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो ।
प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ । परिस्थिति हेरेर डाइभर्सन निर्धारण गरिने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।