नेकपा (एमाले)ले साइबर डेस्क स्थापना गर्ने भएको छ । एमाले कोशी प्रदेशले प्रदेशका सबै वडामा डेस्क स्थापना गर्ने निर्णय गरेको हो । पुस २७ गते विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले फागुनको दोस्रो हप्ताभित्र डेस्क स्थापना गर्न गर्ने निर्णय गरेको थियो । एमालेले फागुन १५ गतेभित्र १३ सयभन्दा बढी साइबर डेस्क स्थापना गर्न निर्देशन दिँदै मातहतका कमिटीलाई परिपत्र गरेको छ ।

फागुन १५ गतेभित्र १४ जिल्ला १३७ वटा पालिका र १ हजार १५७ वटा वडामा १३०९ वटा साइबर डेस्क राखेर पूर्णरूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए

माघ ५ गते एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा भनिएको छ ‘साइबर डेस्कमा ५/५ जनालाई राख्ने निर्णय पार्टीले निर्णय गरेको छ । भरपर्दाे र विश्वासिलो डिजिटल प्रविधिमैत्री कमरेडहरूको टिम बनाई ६ हजार ५४५ जनालाई डिजिटल साइबर फोर्समा आबद्धगरी परिचालन गरिने छ ।’

डिजिटल फोर्सलाई तहगतरूपमा आवश्यक प्रशिक्षणसहित प्रदेश डिजिटल साइबर फोर्सको कमान्डमा परिचालन गरिने अध्यक्ष खतिवडाले बताए ।  ६ हजार ५४५ जनाको फोर्सलाई फागुन महिनाभित्र एउटै साइबर ग्रुप तथा लिङ्कमा जोडेर त्यसमार्फत् सामाजिक सञ्जालको पहुँचमा रहेका सबै सदस्यहरूलाई साइबर हमला विरुद्धको प्रतिवादमा परिचालन गरिनेसमेत निर्देशनमा उल्लेख गरिएको छ ।

ग्रुप तथा लिङ्कमा जोडिएकाहरूले आ–आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचारका काममा जुट्नु पर्ने छ । उनीहरूले साइबर हमला विरुद्धको प्रतिवाद अभियानमा समेत जोडिनु पर्ने छ ।

पार्टीको नीति र नेतृत्वविरुद्ध भइरहेको घेराबन्दी, षड्यन्त्र र फैलाइएका एक–एक भ्रमहरूको डिजिटल साइबर फोर्समार्फत् प्रतिवाद गर्ने नेताहरूले बताएका छन् । लहलहैमा लागेर कुनै पनि सदस्यले पार्टीको नीति र नेतृत्वविरुद्ध नलेख्नसमेत प्रदेश कमिटीले उर्दी गरेको छ । नीति र नेतृत्वविरुद्ध लेख्नेलाई  कडा कारबाही गर्नेसमेत उल्लेख छ ।

एमालेले पार्टीका सदस्यहरूको सामाजिक सञ्जालको अकाउन्टसमेत जाँच गर्ने भएको छ ।  झुटा आरोप र भ्रमपूर्ण कुराहरूको खण्डन सामाग्रीसमेत तयार गरेर पार्टीले तयार गरेको ग्रुपमा पठाउन मातहतका कमिटीलाई पार्टीले निर्देशन गरेको छ ।   डिजिटल डेस्क स्थापना गर्दा लाग्ने खर्च भने सम्बन्धित कमिटीले व्यहोर्ने उल्लेख गरिएको छ । साइबर हमलाको प्रतिवाद गर्न स्मार्ट शैली अपनाएको एमालेले जनाएको छ । माघ महिनाभित्र सामाजिक सञ्जाल चलाउने नेता, कार्यकर्ता र सदस्यको विवरण सङ्कलन गर्ने भएको छ ।

पार्टीको नेतृत्वप्रति सामाजिक सञ्जालमा साइबर हमला भएपछि प्रतिवाद गर्न यस्तो योजना बढाएको नेताहरूले बताएका छन् । ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ,’ एक नेताले भने, ‘त्यसपछि प्रदेश कमिटीलाई समेत आलोचनाको प्रतिवाद गर्नेगरी योजना बनाउने भन्ने निर्देशन नै थियो । त्यहीअनुरूप निर्णय भएको हो ।’

यस्तै एमालेले विदेशमा गएका युवाहरूको तथ्याङ्क र नाम समावेश गरेर केन्द्रीय सङ्गठन विभागमा पठाउन पनि परिपत्र गरेको छ । मिसन ८४ निर्वाचन केन्द्रित गतिविधिसमेत गर्नेगरी प्रदेश कमिटीले परिपत्र गरेको छ । निर्वाचनको बुध सुरक्षा प्रयोजनका लागि २५ जना युवाहरूको रोष्टर बनाई आवश्यक प्रशिक्षणसहित युवाको कमान्डमा निर्वाचन केन्द्रित युवा विशेष परिचालनको तयारी गर्न एमालेले निर्देशन गरेको छ ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय