देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति जनाएको छ ।
देउडा संस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष धुर्बबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत संगीतप्रति आपत्ति प्रकट गरेका हुन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत संगीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
काली(कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ ।
संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत संगीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उनले कारबाहीको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
कुनै भेग समुदायसंग जोडिएको पुजनिय संस्कार र संस्कृतीलाई होच्याउने गित संगितप्रति घोर आपत्ती जनाउदै सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दछौ देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठानका सुदुरपश्चिम प्रदेश अध्यक्ष धुर्ब बहादुर सिंहको हस्ताक्षेरीत विज्ञप्तिमा भनिएको छ ।