आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गर्छौं : रास्वपा नेता खनाल
लामिछानेले मंगलबार नवलपरासी पश्चिमका दुई निर्वाचन क्षेत्रमा सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका छन् ।
रास्वपा नेता एवं नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गरिने बताए ।
झण्डा प्रयोग नगरी मतदाता र कार्यकर्तालाई अभिभावादन गर्ने गरी कार्यक्रम गरिने उनको भनाइ छ ।
‘अरु दलले पनि गरेकै छन्, रास्वपाले गर्न नपाउने भन्ने हुँदैन,’ खनाल भन्छन् ।
रुपन्देहीमा अचारसंहिता उल्लंघन भए/नभएको अनुगमन गर्ने
लामिछानेले सोमबार रुपन्देहीमा चुनाबी सभा शैलीमै भाषण गर्दै हिँडेको आरोप छ । उनलाई रोड सोमात्रै गर्ने गरी अनुमति प्रदान गरेपनि उनले विभिन्न स्थानमा सभा गर्दै चुनावी भाषण गरेका थिए ।
उनले रुपन्देहीका देवदह खैरेनी, बुटवल, योगीकुटी, शान्तिचोक, भैरहवा, छपिया, फर्साटिकर, मर्चवारमा भाषण गरेका थिए । उनले यी सभाहरुमा सहभागी भएका स्थानीयसँग रास्वपा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका थिए ।
जबकी निर्वाचन कार्यालयले उनलाई सडकमा परिचय गर्न र भेटघाट गर्नका लागि मात्रै अनुमति दिएको थियो ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले विभिन्न स्थानमा परिचयात्मक भेटघाट गर्ने र सभा तथा सम्बोधन नगर्ने गरी लामिछानेलाई अनुमति दिएको बताए । उनले दलहरुले आचारसंहिता उल्लंघन गरे/नगरेको अनुगमन गर्ने र त्यसअनुसार कारबाही समेत गर्ने बताए ।
निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा निर्वाचन कार्यालयले अनुमति दिँदा नै चुकेको रुपन्देही ३ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले बताए । ‘दलहरुले फागुन ४ गतेपछि मात्रै चुनावी सभा गर्न पाउने कार्यतालिका छ तर सरकारको नेतृत्व र मातहतका सम्बन्धित निकायले निश्चित दललाई आचार संहिता विपरीतका गतिविधि गर्दा पनि नजरअन्दाज गरेको छ, यसमा हाम्रो आपत्ति छ’ अलीले भने ।
फागुन ४ देखि १८ गतेसम्म पाइन्छ सभा, जुलुस गर्न
निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।
निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो ।
निर्वाचन आचार संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी बताउँछन् ।
प्रचारका लागि तोकिएको अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ ।
आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ । त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ ।
आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ । अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ ।




