नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिका ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेकोको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र ठेकेदार दिनेश यादवविरुद्ध १० लाख ८ हजार ७०३ रुपैयाँ ७४ पैसा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार विद्यालयको नाममा रहेको कित्ता नं. २९५ र १४२ को करिब १ बिघा १० कठ्ठा १० धुर जग्गालाई खेतीयोग्य बनाउन सम्याउने भनी विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा २०८० फागुन १५ गते विव्यस अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ बस्ने ठेकेदार दिनेश यादवबीच माटो उत्खननको सम्झौता भएको थियो ।
जग्गा सम्याउने बहानामा गाउँपालिकाको अनुमति र तोकिएको परिमाणभन्दा बाहिर गई ५ फिट गहिराइसम्म माटो निकाली बिक्री गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
स्थलगत नापजाँच र छानबिनका क्रममा अध्यक्ष चौधरी र ठेकेदार यादवले आपसी मिलेमतोमा विद्यालय र गाउँपालिकालाई हानि पुर्याउने बदनियतले बढी माटो निकालेको पुष्टि भएको अख्तियारको दाबी छ ।




