बागमती प्रदेशका सबै सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू ललितपुरमा आएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सबै सुरक्षा प्रमुखहरु ललितपुरको पुल्चोकमा भेला भएका हुन् ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले गरे । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, प्रजिअहरु, सैन्य अधिकारीहरू र काठमाडौँ उपत्यकामा कार्यरत सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती र निर्वाचनको सुरक्षा रणनीतिबारे गोष्ठीमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गोष्ठीको आयोजना गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाल प्रहरीका आईजीपी, सशस्त्रका आइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेनाका बलाधिकृत रथी सहभागी छन् । गोष्ठी शुक्रवार साँझ सम्पन्न हुनेछ ।




