विशेष कि नियमित महाधिवेशन भन्नेमा सर्वस्वीकार्य सहमति नजुट्दा नेपाली कांग्रेसको आन्तरिक विवाद झन उत्कर्षमा पुग्ने देखिएको छ ।

देउवा र महामन्त्रीद्वयबीचको संघर्षका कारण शुक्रवार दिनभर कांग्रेस नेताहरु छलफल र संवादमा व्यस्त बने । यद्यपी दुवै पक्षलाई स्वीकार्य हुने गरी सहमति हुन नसक्दा कांग्रेसभित्रको विवाद विभाजनको बाटोमा त जाँदैन भन्ने गम्भिर प्रश्न तेर्सिएको छ ।

बिहिवार नियमित महाधिवेशन स्थगित र विशेष महाधिवेशन घोषणा गरेपछि नेपाली कांग्रेसका महामन्त्रीद्वयमध्ये गगन थापा राजनीतिक प्रतिवेदन लेख्न भन्दै धुलिखेल गए । तर यता शुक्रवार बिहानैदेखि कांग्रेसमा संस्थापन भनेर चिनिएको देउवा पक्षले आफ्नो दौडधुप बढायो ।

पार्टीका २५ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई भेट्दै विवाद समाधानको उपाय खोज्न आग्रह गरे । देउवाले पनि आफु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै चिन्तित बनेका केन्दी्रय सदस्यहरुलाई सान्त्वना दिए ।

यता विशेष महाधिवेशन पक्षधरले विहानै अनामनगरमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको माग गरे । उनीहरुले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब मात्रै दिएनन् विशेष महाधिवेशन वैधानिक अधिकार समेत रहेको जिकिर गरे ।

यसैबीच कार्यवाहक सभापति पुर्णबहादुर खड्काले पनि आफ्नै सक्रियता बढाए । दिउँँसो बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि नै खड्काले देउवा पक्षका नेताहरुबीच घनिभून छलफल गरे ।

महामन्त्रीद्वयले घोषणा गरेको विशेष महाधिवेशनलाई काउन्टर दिनेगरी आफ्नो टिम तयार भएपछि उनी सहितका नेताहरु सानेपा केन्द्रीय पार्टी कार्यालय पुगेर कार्य सम्पादन समितिको बैठकमा सहभागि भए ।

बैठकमा कार्यबाहक सभापति खड्काले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव गरे । बैठक चलिरहेकै बेला बाहिर निस्किएका नेता विमलेन्द्र निधिले पूर्णबहादुरले महाविधेशनको मितिबारे गरेको प्रस्तावको बारेमा सञ्चारकर्मीलाई जानकारी दिए ।

बिहानै कार्य सम्पादन समितिको बैठकले केन्द्रीय कार्य समितिको म्याद समेत थप ग¥यो । कार्यसमितिको म्याद आगामी जेठ मसान्तसमम थप भएको छ ।

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रिय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यही पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताए । महतले बैठकले आगामी वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पारित भएको जानकारी दिए ।

गगन थापाको असन्तुष्टि 

१५ औँ महाधिवेशन वैशाखमा गर्ने निर्णय पारित भएपछि महामन्त्री गगन थापाले फरक मत राखेका छन् । पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने उनले दाबी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले केन्द्रिय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने बताएका छन् ।

पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको महामन्त्री थापाको भनाइ छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय