काठमाडौं बसेर पढिरहेका झापा दमकका सरोज पुरी फुर्सदको समयमा इन्टेरियर डिजाइनसम्बन्धी काम सिक्दै आएका थिए । त्यही क्रममा भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो ।
पुरी २४ गते साँझतिर आन्दोलनकारीले जलाएको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पुगे । पुरीले त्यहाँ केही आन्दोलनकारीहरूले प्रहरीको हतियार लुट्दै गरेको देखे ।
उनी पनि प्रहरीको हतियार लिन जलिरहेको कार्यालयभित्र छिरे । त्यही मौकामा उनी दुईवटा पेस्तोल र २० राउन्ड गोली खल्तीमा राखेर कागेश्वरी मनोहरा नगरपालिका– ७ मा रहेको डेरातर्फ लागे ।
भदौ २५ मा चिया पिउन भन्दै पुरी गणेशमन्दिर गए । त्यहाँ उनले सरोज तिमिल्सिना नाम गरेका व्यक्तिसँग भेटे । पुरीले आफूसँग प्रहरीको दुईवटा पेस्तोल र २० राउन्ड गोली रहेको बताए ।
झापा जान लागेकाले उक्त हतियार राखिदिन आग्रह गरे । तर, तिमल्सिनाले आफू पनि झापा जान लागेको बताए । दुवैजना प्रहरीको लुटिएको हतियार बोकेर भदौ २६ गते झापा जाने रात्रि बस चढे ।
झापा पुगेपछि पनि उनीहरूले आफूलाई प्रहरीले पिछा गरेको हुन सक्छ भन्ने डरमा ग्रेन्डर मशिनले एउटा पेस्तोलको सिरियल नम्बर मेटाए ।
केही दिन बसेर तिमल्सिना पछि हतियार लिन आउँछु भन्दै काठमाडौं फर्किए । पुरीले भने सिरियल नम्बर मेटेको एउटा पेस्तोल र १५ राउण्ड गोली आफ्नै घरमा राखे ।
आफू चितवन जानुपर्ने भयो भन्दै पुरीले अर्को एउटा पेस्तोल र पाँच राउन्ड गोली आफ्ना साथी विश्वबन्धु लिङ्देन लिम्बूलाई दिए । एक हप्ताका लागि लिम्बूलाई पेस्तोल दिएका पुरी पुन: झापा पुगेर लिम्बूसँग फोन सम्पर्क गरे ।
लिम्बू सम्पर्कमा आएनन् । उता प्रहरीले पुरीलाई खोजिरहेको थियो । त्यही क्रममा मंसिर ७ गते पुरी नम्बर मेटाइएको पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ परे ।
पुरीले पेस्तोल र गोली राख्न दिएका लिम्बू मंसिर ८ मा पक्राउ परेका थिए । दमकमा चिया पसल सञ्चालन गरी बस्दै आएका लिम्बूको पसलमा पुरी र पवन हाङसुरुम्बा बेलाबखत जाने गरेका थिए ।
बच्चैदेखिका साथी उनीहरूमा खुलेर कुरा हुन्थ्यो । बहिनीको बिहेका लागि कुखुरा खोज्न गाउँ जान लाग्दा लिम्बूले पुरीले दिएको हतियार हाङसुरुम्बालाई दिएका थिए । तर, हाङसुरुम्बाले उक्त हतियार आफू घरमा राख्न नसक्ने जनाउ लिम्बूलाई दिए । प्रहरी लिम्बूको पनि खोजीमा थियो । हतियार व्यवस्थापन गर्न नपाउँदै लिम्बू पनि पक्राउ परे ।
इलामका हाङसुरुम्बा गाउँमा खेतीपाती गर्दै बसिरहेका थिए । कुखुरा खोज्न आएका लिम्बूले उनलाई हतियार भिडाइदिए ।
रातो झोलामा पेस्तोल र गोली राख्न दिएका लिम्बू गाउँमा कुखुरा खोज्न गएपछि उनले झोला खोतलेर हेर्दा पेस्तोल र गोली देखेपछि उनी झस्किए ।
तुरुन्तै लिम्बूलाई फोन गरेर हतियार घरमा राख्न नसकिने जनाउ दिएका थिए ।
‘पुरी एक हप्तापछि झापा आउँछ अनि दिउँला, अहिले घरबाहिर कतै गाडेर राखिदेऊ,’ भन्दै लिम्बूले अनुनयविनय गरेपछि हाङसुरुम्बाले बारीमा खाल्डो खनेर हतियार पुरेर राखेका थिए ।
कुन बेला लिम्बू आउला र हतियार दिउँला भनेर बसेका हाङसुरुम्बालाई प्रहरीले पक्राउ गर्यो । उनले घटनाको बेलिविस्तार लगाउँदै गाडेको पेस्तोल र पाँच राउन्ड गोली प्रहरीलाई बुझाए ।
झापाबाट काठमाडौं ल्याइएका पुरी, लिम्बू र हाङसुरुम्बालाई प्रहरीले हातहतियार तथा खरखजाना र आपराधिक उपद्रव मुद्दा चलायो ।
जिल्ला सरकारी वकिल कार्यालयले यही पुस २ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्यो । उक्त मुद्दामा तीनै जना बिहीबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले यो टोलीलाई पक्राउ गर्न धेरै मेहनत गर्नुपरेको बताए ।
‘काठमाडौंदेखि प्रहरीको हतियार लुटेर झापा र इलामसम्म पुर्याई लुकाइराखेको यो टोलीलाई पक्राउ गर्न प्रहरीले धेरै मेहनत गर्नुपर्यो,’ भट्टराईले भने, ‘अदालतमा मुद्दा दर्ता भइकेकेको छ, उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’




