भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझका लागि गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने अन्तिम तयारी गरेको जनाएको छ ।
अहिलेसम्म समितिले आधाभन्दा बढी काम सकिसकेको जानकारी गराउँदै अब हुने बयानका आधारमा ओली र लेखकलाई बोलाइने जनाएको छ ।
सरकारले जाँचबुझका लागि असोजको ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । आयोगले अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीसम्मका अधिकारीको बयान लिइसकेको छ ।
उच्च स्रोतले दिएको जानकारीअनुसार नेपाली सेनासँग पनि लिखितरुपमा जानकारी माग गरिएको छ । आयोगकै एक अधिकारी नेपाली सेनाको मुख्यालय पुगेर लिखित प्रश्नावली छाडेको स्रोत बताउँछ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अब तत्कालीन उपत्यका प्रमुख (हालका आईजीपी), तत्कालीन प्रहरी महानिरीक्षक, तत्कालीन सचिवलगायतसँग बयान बाँकी नै रहेको बताए ।
त्यसपछिमात्रै ओली र लेखकका लागि प्रश्नावली तयार पारिनेछ । सम्भवतः एकसाताभित्रै बयानको काम सक्ने तयारी छ ।
“हामीले त्यसबेला सुरक्षा निकायका प्रमुख, गृहसचिवसहित उच्च अधिकारीसँग बयान लिनै बाँकी छ,” अध्यक्ष कार्कीले भने, “उनीहरुको बयानका आधारमा कसले आदेश दिएको हो ? भन्ने देखिएपछि बयान सुनेर प्रश्नावली बनाउछौँ । अनि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बोलाउछौँ ।”
आयोगले जेनजी आन्दोलनका घाइतेलगायतसँग पनि भेट गरेर कुराकानी गर्ने भएको छ ।




