१५ औं महाधिवेशनको किचलो बढेपछि कांग्रेसमा शृंखलाबद्ध छलफल चलेका छन् । कार्यतालिका ल्याउन नपाएपछि महामन्त्री गगन थापाले बिहीबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि शुक्रबार बिहानैबाट छलफल शुरू भएका हुन् ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले शुरूमा डा. शेखर कोइरालासँग छलफल गरे । त्यसपछि दुवैले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका हुन् ।

‘महामन्त्रीद्वयले यसअघि मंसिरभित्रै महाधिवेशनको अडान लिनुभएको थियो । तर, सक्दै सकिँदैन भन्ने भएपछि उहाँहरूले विकल्पमा मेलमिलाप दिवसको अवसर पारेर आगामी पुस १६ देखि २० गतेसम्म महाधिवेशन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ,’ महामन्त्री थापानिकट स्रोतले भन्यो, ‘आज बिहान शेखर दाइसँगको छलफल पनि यही विषयमा हो । तपाईंहरूको महाधिवेशनबारे के हो ? चुनावअघि कि पछि भन्नेमा खुलेर छलफल भयो । उहाँहरूलाई पनि चुनाव वा महाधिवेशन के हो, निर्णय गर्नुस् भनेर महामन्त्रीहरू पुग्नुभएको हो ।’

यसपछि ११ बजेदेखि खड्काको गल्फुटारस्थित निवासमा महामन्त्रीले डेढ घण्टा छलफल गरेका थिए । महामन्त्रीद्वयसँगको छलफलमा कार्यवाहक सभापति खड्काले मध्यमार्गी जवाफ दिएको महामन्त्रीनिकट स्रोतले जानकारी दियो ।

‘सभापतिले पनि नियमित महाधिवेशनको कुरा नै गर्नुभएको छ । महाधिवेशनबारे अलमल छैन । कति अगाडि र पछाडि भन्नेमा मात्रै कुरा मिल्न बाँकी हो,’ खड्काले भनेका थिए, ‘तपाईंहरूले प्रस्ताव गरेको समयमा वरपर रहेर एउटा समझदारी गर्न समस्या छैन । म पूर्व पदाधिकारीसँग छलफल गरेर समझदारी निर्माणमा लाग्छु । अरूसँग पछि छलफल गर्छु । तपाईंहरूले पनि छलफल गरेर एउटा वातावरण बनाइदिनुस् ।’

तर, केन्द्रीय समितिको बैठकअघि लगातार समूहको बैठकमा संस्थापन निकटका पूर्व पदाधिकारी र पदाधिकारीले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पोजिसन राखेका थिए ।

यता शेखर निकटका सहमहामन्त्री जीवन परियारले पनि महाधिवेशन गरेर मात्रै निर्वाचनमा जाने गरी पुस १६ गतेको विषयमा आफूहरूमा अलमल नरहेको प्रस्ट्याए ।

‘फागुन २१ गतेको निर्वाचनअघि नै १५ औं महाधिवेशन गर्न सकिन्छ । बरु विशेष महाधिवेशनको विषय थाती राख्न तयार हुनुपर्छ भनेर छलफल गर्‍यौं । तत्काल महाधिवेशनका लागि कार्यतालिका ल्याउनुको विकल्प छैन भन्नेमा हामीबीच सहमति जुटेको छ,’ परियारले भने, ‘यही सहमतिपछि मेलमिलाप दिवसको अवसर पारेर पुस १६ देखि २० गतेसम्म १५ औं महाधिवेशन गर्न सकिन्छ भनेरै विकल्पमा तयारी भएका छौं ।’

शुक्रबार बिहान आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए ।

‘नियमित महाधिवेशन निर्वाचनअघि गरौं भन्नुको पछाडि हाम्रो व्यक्तिगत स्वार्थ छैन । निर्वाचनमा जाँदा वडादेखि माथिसम्म नयाँ नेतृत्व हुँदा पार्टीभित्र आकर्षण बढ्छ । निर्वाचनमा माहोल बनाउन पनि महाधिवेशन पहिले नै गर्नुपर्छ । यसैले अहिले बसिरहेको कार्यसमितिबाट महाधिवेशनको कार्यतालिका ल्याउनुको विकल्प छैन,’ परियारले भने, ‘हामीले यही निचोड निकालेपछि महामन्त्रीद्वय कार्यवाहक सभापतिसँग छलफल गर्न जानुभएको छ ।’

बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिका ल्याउने स्थिति नभएपछि महामन्त्री थापाले केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेका थिए । पार्टी संस्थापनले फागुन २१ गतेको निर्वाचनअघि कुनै पनि हालतमा १५ औं महाधिवेशन गर्न नसक्ने अडान लिएको छ । यसैले कांग्रेसको आन्तरिक राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ ।

कार्यवाहक सभापतिसँगको छलफलमा कार्यतालिकामा सहमति नजुटेपछि थापा झोक्किँदै पार्टी कार्यालयबाट हिँडेका थिए । त्यसपछि शुक्रबार बिहान १४ औं महाधिवेशनका बेला एकै टीममा रहेका शेखरसँग थापा र शर्माले संवाद गरेका हुन् ।

सभापति वा कार्यवाहक सभापतिको अनुमतिविना केन्द्रीय समितिको बैठकमा कार्यतालिका पेश गर्न मिल्दैन । यस्तोमा खड्कासँगको छलफलपछि अब थापाले के गर्छन् भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ । ‘सभापति र कार्यवाहक सभापतिको अनुमतिविना कार्यतालिका पेश गर्न पाइँदैन । यसैले कार्यवाहक सभापतिसँगको बैठक र उहाँले टीमसँग गर्ने कुराकानी महत्त्वपूर्ण छ,’ महामन्त्रीनिकट स्रोतले भन्यो, ‘त्यसपछि कसरी अगाडि बढ्ने तय हुन्छ ।’

कार्यवाहक सभापतिले कार्यतालिका पेश गर्न नदिए छलफलका लागि आफैं पेश गर्ने कि नगर्ने भन्नेमा थापा निष्कर्षमा पुगिसकेका छैनन् ।’

शेखर टीमले विशेष महाधिवेशनका लागि इच्छा व्यक्त गरेको छैन । तर, नियमित महाधिवेशन चुनावअघि नै गर्ने स्थिति सिर्जना नगरे विशेष महाधिवेशन जसरी पनि गर्नैपर्ने अडानमा महामन्त्रीहरू छन् । ५४ प्रतिशतले हस्ताक्षर गरेपछि यसलाई बेवास्ता गर्न नहुने उनीहरूको जोड छ ।

‘नियमित महाधिवेशन नहुने स्थितिमा विधानबमोजिम माग गरिएको विशेष महाधिवेशन कुनै हालतमा अब रोकिँदैन,’ महामन्त्रीनिकट स्रोतले भन्यो, ‘बहुमत बढी प्रतिनिधिको मागलाई पार्टीले अब बेवास्ता गर्न मिल्दैन ।’

आज पनि १ बजेपछि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । तर, त्यसअघि कार्यवाहक सभापति खड्काले आफूनिकटका नेताहरूसँग छलफल गर्दैछन् । थापाले पनि पूर्व पदाधिकारीसहितका सिनियर नेतासँग छलफल गर्ने तयारी गरेका छन् ।

शर्माले गराएका थिए महामन्त्री शेखर छलफल

नियमित वा विशेष महाधिवेशनबारे शेखर कोइराला र उनको समूहले निर्णय नलिएपछि उनीहरूको पोजिसनमा संशय व्यक्त भएको थियो । यसैले महामन्त्री विश्वप्रकाश शर्माले तपाईंको धारणा के हो भन्दै प्रश्न गरेपछि शेखरले दुवै महामन्त्रीसँग छलफल गरेका हुन् ।

‘उहाँ १४ औं महाधिवेशनको नेता हो । तर, महाधिवेशनबारे केन्द्रीय समितिको बैठकमा उहाँपक्षीय नेताले बोल्नुभएको छैन । नियमित वा विशेष महाधिवेशनबारे खुलेर कुरा राख्नुभएको छैन,’ महामन्त्री शर्मानिकट स्रोतले भन्यो, ‘यसैले बिहीबार उहाँले शेखर दाइलाई तपाईं पक्षका नेताले बोलेका छैनन्, नियमित वा विशेष महाधिवेशनबारे तपाईंको धारणा के हो ? मंसिर, पुस, फागुन र वैशाख कहिलेसम्म महाधिवेशन गर्न सकिने हो ? प्रस्ट पार्नुस् भनेपछि आजको बैठक सम्भव भएको हो ।’

संस्थापनले दिनहुँ गुटका बैठक राख्दा समूहको नेताको रूपमा कुनै पोजिसन नलिएको भन्दै शर्माले निर्णयमा पुग्न कोइरालालाई दबाब दिएका थिए ।

तर, शेखरको सचिवालयले भने आफूनिकटका नेतासँग छलफल भएको जानकारी दिएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय