 
							नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ कात्तिक २७ गते सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
खापुङपछि प्रहरी नेतृत्वका लागि चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू क्रमश: दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह मुख्य प्रतिस्पर्धी छन् ।
विगतमा आईजीपी नियुक्तिमा राजनीतिक लबिइङ र दबाबले काम गर्दै आएपनि अहिले त्यो अवस्था छैन । गत भदौ २३ र २४ को आन्दोलनपछि हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता सञ्चालन गरिरहेको छ । प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता र नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन एवं परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने व्यवस्था गरेको छ ।
बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आईजीपीबारे निर्णय लिनेछ ।
प्रतिस्पर्धीहरूमध्ये एआईजी कार्की, अधिकारी र केसीमध्ये कार्की वरिष्ठ हुन् । उनी डीआईजीबाट एआईजीमा बढुवा (२०८२ वैशाख) हुँदा पहिलो नम्बरमा उक्लिएका थिए । शाह भने २०८२ जेठ १५ मा एआईजीमा एकल बढुवा भएका थिए ।
७९ हजार ५४१ जनशक्तिको कमान्ड गर्ने जिम्मा मन्त्रिपरिषद्ले यी चारजना मध्ये कसलाई दिन्छ, त्यो आगामी दिनले देखाउने नै छ ।
जिम्मेवारीका हिसाबले कार्कीसँग चुनौतीपूर्ण जिल्लाहरू जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय कास्की सम्हालेको अनुभव छ । केसीसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देही सम्हालको अनुभव छ । डीआईजी हुँदा कार्कीले लुम्बिनी प्रदेश हाँके भने केसीले विशेष ब्यूरो । एआईजी भएपछि कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय (पहिला मेट्रो भनिन्थ्यो) को प्रमुख छन् । केसी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख भएर काम गरिरहेका छन् ।
अर्का एआईजी राजन अधिकारीले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमा थिए । एसएसपीमा उनले राम्रो पोस्टिङ पाएनन् । डीआईजी हुँदा विशेष ब्यूरो र कोशी प्रदेश प्रहरीको इन्चार्ज भएर काम गरे । एआईजी भएपछि उनको पदस्थापन अपराध अनुसन्धान विभागमा भयो । हाल अधिकारी मानवस्रोत विकास विभागमा कार्यरत छन् ।
नक्कली भुटानी शरणाथी प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई पक्राउ गरेर केसी चर्चामा आएका थिए । कार्की भने डीएसपी हुँदा बानेश्वर वृत्तमा कार्यरत थिए । त्यतिबेला उनी कालोबजारी गर्नेविरुद्ध खरो रूपमा उत्रिएपछि चर्चामा आएका थिए ।
अधिकारी भने सुनसरीमा बस्दा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गर्ने अभियुक्त पक्राउ गरेपछि चर्चामा आएका थिए ।
पोस्टिङका हिसाबले एआईजीद्वय कार्की र केसी माथि छन् । एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए, केसी । काठमाडौं प्रहरी प्रमुख भने कार्की रहेका थिए । भुटानी शरणार्थी प्रकरणमा केसीले राम्रो अनुसन्धान गर्दै आरोपी काठमाडौं परिसरमा पठाउँथे । कार्की नेतृत्वको परिसरले अनुसन्धानको मिसिल बलियो बनाएकै कारण हाल पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’पुत्र प्रतीक थापा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा पुर्पक्षका लागि थुनामा छन् । शरणार्थी प्रकरणमा संलग्न केशवप्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् ।
शाहले भने एसपी हुँदा रौतहट जिल्ला हाँके । उनी एसएसपी भएपछि जिल्ला प्रहरी परिसर ललितपुर चलाए । डीआईजी भएर प्रदेश प्रहरी चलाउन नपाएका उनी विशेष ब्यूरोमा काम गरे । एआईजी भएपछि शाहको कार्य विभागमा पदस्थापन भयो । हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।
कम स्ट्रेसमा बोल्ड निर्णय क्षमताका कार्की
प्रहरी संगठनमा कार्कीलाई बुझ्नेहरूका अनुसार उनी कम स्ट्रेसमा बोल्ड निर्णय गर्ने क्षमता भएका अधिकृतमा पर्छन् । उनी सकभर कसैलाई पनि चिढ्याउन चाहँदैनन् । युएनमा लामो समय काम गरेका उनी कानूनअनुसार चल्ने व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् । प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका कार्की हालसम्म पनि आर्थिक विवादमा आएका छैनन् । बानेश्वर वृत्तमा रहँदा कालोबजारीविरुद्ध मुद्दा चलाउन खोज्दा तत्कालीन काठमाडौं प्रहरी प्रमुख विक्रम थापाको गलत निर्देशन नमानेपछि उनी चर्चामा आएका थिए । कार्की आफू मातहतका सबैलाई मिलाएर लैजान सक्ने र चेन अफ कमान्डमा खरो रूपमा प्रस्तुत हुने अधिकृत हुन् ।
कम बोलेरै काम गर्ने केसी
एआईजी केसी कम बोलेर रिजल्ट दिनुपर्छ भन्ने मानसिकता भएका प्रहरी अधिकृत हुन् । उनी पीएचडी डाक्टर हुन् । भुटानी शरणार्थी प्रकरणमा उनी तत्कालीन गृहमन्त्रीलाई समेत थाहै नदिई पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर चर्चामा आए । महानिरीक्षकबाट अवकाश पाएका वसन्तबहादुर कुँवरले लुकाएर राखेको शरणार्थीको फाइल उनले कार्यालयमा ल्याएर अनुसन्धान थालेर चुनौति मोलेका थिए ।
केसी सीआईबी पुगेपछि उनले सुन तस्करी प्रकरणमा राजनीतिक आडमा मुद्दा नचलाइएका माओवादी नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेका छन् ।
हाल महरा पुर्पक्षका लागि थुनामा छन् । केसी धेरै बोल्दैनन्, तर अनुसन्धानमा निरन्तर लागेर रिजल्ट दिने अधिकृतमा पर्छन् । संगठन चेन अफ कमान्डमा चल्नुपर्छ भन्नेमा केसी अडिग देखिन्छन् ।
कम चर्चा तर, अध्ययनशील अधिकारी
एआईजी अधिकारी प्रहरी संगठनभित्र चर्चित नभएपनि उनी अनुशासन र व्यावसायिकतामा बलिया छन् । अध्ययनशील अधिकारी पनि कम बोल्ने प्रहरी अधिकृतभित्र पर्छन् । आफूले पाएको जिम्मेवारीलाई जसरी पनि पूरा गर्ने क्षमता अधिकारीमा छ । अपराध अनुसन्धान विभागमा रहँदा अधिकारीले पहिलो महिला प्रहरी सम्मेलन सफलतापूर्वक सम्पन्न गरे । जुन प्रहरी इतिहासमा पहिलो कडीका रुपमा स्थापित हुनेछ ।
प्रतिस्पर्धीभन्दा कम छैनन् शाह
राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरूमध्ये शाह आफ्ना ब्याचका अब्बल प्रहरी अधिकृत हुन् । उनलाई प्रहरी संगठनभित्र पनि ‘बोल्ड’ डिसिजन गर्ने अधिकृतका रूपमा चिनिन्छ ।
विशेष ब्यूरोमा रहँदा शाहकै योजनामा दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको थियो ।
चैत १५ को घटनाका मुख्य आरोपीमध्येका प्रसाईं भागेर भारत पुगेका थिए ।
संगठनका अन्य अधिकृतका अनुसार व्यवसायिक छवि बनाएका शाह पनि अरू प्रतिस्पर्धीभन्दा कम छैनन् ।


 
								 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								 
								

