प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनावमार्फत् ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । उनले फागुन २१ को चुनाव सफल बनाउन सबैसँग अपिल गरिन् ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्कीले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने र नागरिकबाट सोही अनुसारको कर्तव्यको अपेक्षा राखेको बताइन् ।

‘जेनजी युवाको नेतृत्वमा भएको आन्दोलन देशमा व्याप्त भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो, यसलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर हेरेकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ‘शासकीय आकांक्षा बोकेर पदको लालसा लिएर प्रधानमन्त्री बनेको होइन, देश संकटमा रहेको बेला परिवर्तनकारी युवाको अनुरोध समेतको आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै ६ महिनाभित्र प्रतिनिधि सभामार्फत् जनप्रतिनिधि सरकारलाई जिम्मा हस्तान्तरण गर्नेगरी अन्तरिम सरकारको प्रधानमन्त्री बनेको हुँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

देशमा पटक–पटक भएका बलिदानबाट संविधान जारी भएको दिन गौरव गर्ने दिन रहेको उनले स्मरण गरिन् । ‘संविधानमा परिवर्तनभन्दा संविधानको मर्म भावना र कर्मको अपेक्षा गरेका छौं । त्यसका लागि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्नेगरी युवालगायतको सबैको अपनत्व सृजना गर्नुपर्नेछ,’ उनले भनिन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय