
सार्वभौम मुलुक नेपालमा भारतको हस्तक्षेप समय समयमा सतहमा आउने गर्छ । अहिले पनि दार्चुलाको सदरमुकाम, महाकाली नगरपालिका–५, बसपार्क क्षेत्रको नेपाली भूमिमा भारतीय स्काभेटर खुलेआम संचालनमा आएको छ । दार्चुलामा पटक–पटक भारतीय हस्तक्षेप हुँदै आएपनि सीमा सुरक्षामा सरकारको ध्यान गएको छैन ।
दार्चुलाको बसपार्क क्षेत्रमा अहिले भारतीय स्काभेटर खुलेआम संचालनमा छ । नेपाली भूमिमा खुलेआमा भारतीय स्काभेटर चलिरहेका छन् । तर सरकारले यसलाई रोक्नेतर्फ कुनै चासो देखाएको छैन । नेपालको तर्फबाट गत वर्ष २०८१ चैत १० गते नै “नेपालको भुमिमा निर्माण कार्य बन्द गर“ भन्दै पत्र पठाएको भएपनि अहिलेसम्म लिखित जवाफ आएको छैन ।
वि.सं. २०७० मा आएको भीषण बाढीले महाकालीको धार परिवर्तन भएपछि ५० रोपनी जति भूभाग नदीपारि हुन पुगेको थियो । यो क्षेत्र नेपालको नै भएपनि भारतले पटक पटक आफ्नो संरचना बनाउन खोजिरहेकोमा भने स्थानीयको अवरोधका कारण काम गर्न पाएको थिएन । तर वैशाख १ गतेदेखि भारतले पुनः नेपालको भुमिमा डोजर चलाउन शुरु गरेको छ भने स्थानियहरुले विरोध जनाईरहेका छन् ।
२०७० को बाढी आउनुपूर्व यो भूमिमा जिल्ला वन कार्यालय र भुसंरक्षण कार्यालयहरु थिए बाढी आएको २, ३ वर्षपछि भारतले यो ठाउँमा आफ्नो संरचना बनाउन चाहेपनि स्थानीयको दबाबका कारण निर्माण कार्य रोकिएको थियो । अस्पताल क्षेत्रमा भारतले स्काभेटर चलाएकोप्रति दार्चुला अस्पतालका मेसु संजिव श्रेष्ठ यसरी आक्रोश व्यक्त गर्छन् ।
यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले काम बन्द गर्न नेपाल सरकार गृहमन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा जानकारी गराएको बताए ।
गत वर्ष २०८१ पुष ७ गतेपनि भारतले महाकालीको वारीतिर स्काभेटर ल्याएको थियो । नागरिक स्तरबाट कडा विरोध भएपछि भारत रोकिएको थियो । तर अहिले त हद नै पार गर्दै, नेपालकै भूमिमा भारतले संरचना निर्माण गरिरहेको छ ।
देशको परराष्ट्रमन्त्री आरजु राणा धन्यवाद नदिएकोमा गुनासो गर्छिन् तर आफुले गर्नुपर्ने परराष्ट्रनीति एवम् पहलकदमी कस्तो छ भन्ने दार्चुलाको यो गतिविधि हेरे पर्याप्त हुन्छ । त्यसो त यो विषयमा दार्चुलाबाटै निर्वाचित संघका सांसद दिलेन्द्रप्रसाद बडु, प्रदेश सांसद मानबहादुर धामी, विक्रम धामी, लक्ष्मी विकले पनि अहिलेसम्म न सामाजिक संजालमा न मौखिक रुपमा कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।
यो जिल्ला गृहमन्त्री रमेश लेखक कै प्रदेशको क्षेत्र हो । तर नेपालको भूमि भारतको संरचना निर्माणको प्रयोगशाला बनिरहँदा उनले पनि कुनै प्रतिक्रिया जनाएका छैनन् ।