राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका सन्दर्भमा शान्ति र संयमता अपनाउन आग्रह गरेका छन्।
मिश्रले राजसंस्थाले सधैँ शान्ति र राष्ट्रिय एकतामा जोड दिएको उल्लेख गर्दै राजा वीरेन्द्र शाहले थोरै क्षति हुनेबित्तिकै ३० वर्षे पञ्चायती व्यवस्था त्यागेको दाबी गरे। त्यस्तै, पूर्वराजा ज्ञानेन्द्रले पनि थोरै क्षति हुनेबित्तिकै हजारौँ वर्षदेखिको राजसंस्थाको परम्परा त्यागेको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत बताए ।
उनले राजाले कहिल्यै हिंसा र अशान्ति नचाहेको उल्लेख गर्दै आज स्वागतका क्रममा शान्तिपूर्ण ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए। “राजालाई स्वागत गर्न जाँदा शान्ति अवलम्बन गर्नु हामी सबैको दायित्व हो,” उनले भने।
विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा सहमत हुँदै उनले त्यसबाहिर शान्तिपूर्ण रूपमा स्वागत गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए।
अन्य व्यक्तिहरूको स्वागतका क्रममा समस्या नहुने तर पूर्वराजाको स्वागतमा निषेधाज्ञा जारी गर्नु उपयुक्त नभएको उनको भनाइ छ। पूर्वराजा आज झापाबाट आउँदा राजावादीले विमानस्थल क्षेत्रमा उनको स्वागतको तयारी गरेका छन् । तर प्रशासनले निषेधाज्ञा लगाएको छ ।




