नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताएका छन् ।

क्लिकमान्डुद्वारा आयोजित ‘जेनजी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले फ्रान्स र चीनजस्ता देशमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भए पनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताए ।

गभर्नर पौडेलका अनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन् । तर, यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपालजस्तो देशमा नवप्रवर्तन (इनोभेसन) आधारित सम्पत्ति कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उनको भनाइ छ ।

गर्भनर पौडेलले भने, “जतिखेर आर्थिक वृद्धिदर अलिअलि सुरु हुन थाल्छ, त्यतिखेर धेरै ठाउँमा अस्थिरताहरू हुन्छ । यो अध्ययनले पनि देखाएको हो । आर्थिक वृद्धि बढ्दै गर्दा मान्छेहरूमा असन्तुष्टिहरू बढ्छ । अवसरहरू मैले पाइनँ, अर्कोले पायो कि भन्ने हुन्छ । त्यसले गर्दा मान्छेमा विद्रोह हुन्छ । फ्रान्स होस् या चिनमा भएको क्रान्तिमा त्यो देखिएको थियो । मान्छेहरूले आर्थिक ग्रोथको पहिलो चरणमा स्थायित्व बढ्छ भन्ने गरिएको छ । त्यसले गर्दा नेपालमा पनि उदारिकरण जुन गरिरहेका छौँ, उदारिकरण गर्दा केही मान्छे धनी भइरहेका छन्, त्यसलाई हामीले राम्रोसँग बताउन सकिरहेका छैनौँ ।”

नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ । गभर्नर पौडेलले आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको संकेत गरे । जसले गर्दा समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय