एमालेले बहिष्कार गर्यो आर्थिक विधेयकमाथिको छलफल।
काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा आर्थिक विधेयक २०७९ माथिको दफावार छलफल बहिष्कार गरेको छ। बैठकको कामकारबाही सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध जनाएका हुन्।
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयक २०७९ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जनाए।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । उनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म आर्थिक विधेयक २०७९ माथि छलफलमा सहभागी नहुने बताए। सांसद श्रेष्ठले शर्माले पेश गर्ने प्रस्तावमाथि छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएपछि एमाले सांसदहरु बैठकबाट बाहिर निस्किए । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइ करको दरमा फेरबदल गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ।