गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूसमक्ष नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले सहमति गर्नेगरी फर्मुला अघि सारेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासहितले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरणमा लाग्न दिएको जिम्मेवारी स्वरुप थापा र शर्माले शनिबार पनि शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

सो छलफलको क्रममा उनीहरूले अदालतले दिएको तीन दिनको समयसीमाभित्र सहमति गरेर विद्यालय फर्कनका लागि सरकार र महासंघ दुवै गम्भीर हुनुपर्ने बताए ।

महामन्त्री शर्माका अनुसार, यसका लागि दुई वटा फर्मुला अघि सारिएको छ ।

पहिलो, सरकार एक कदम अघि बढ्ने ।

दोस्रो, शिक्षकहरू एक कदम पछि हट्ने ।

यसलाई महामन्त्री शर्माले कुरा गर्दै केही ब्रिफिङ पनि गरे ।

‘सरकार पनि एक स्टेप अगाडि सरोस्, मिलाउन तयार हुनुपर्छ । शिक्षक महासंघ पनि एक कदम पछि हटेर सहमतिमा पुग्नुपर्छ,’ विश्वप्रकाश भन्छन्, ‘हामी दुई भाइको यही फर्मुला हो । दुई दिनभित्र मिलाउनेगरी अघि बढौं भनेर कुरा गरेका हौं ।’

सरकारले पनि शिक्षकहरूको माग पूरा गर्ने क्रममा राज्यलाई पर्ने व्ययभार खप्न तयार हुनुपर्ने, ऐन जारी गर्नका लागि सभामुख, सत्तारुढ र विपक्षी दलका प्रमुख सचेत, शिक्षक महासंघका प्रतिनिधि राखेर विश्सनीय आधार बनाउनुपर्ने लगायतका तर्क उनले गरे ।

शिक्षकहरूले पनि शत प्रतिशत स्थायी गर्नुपर्ने, काठमाडौं केन्द्रित आन्दोलन रोक्नुपर्ने, कक्षा १२ को परीक्षामा संवेदनशील हुनुपर्ने लगायतका विषयमा गम्भीर बन्नुपर्ने महामन्त्रीद्वय शर्मा र थापाको भनाइ छ ।

उनका अनुसार स्थानीय तह अन्तर्गत विद्यालय रहने कुरामा सरकार र शिक्षक महासंघल लगभग सहमतिकै अवस्थामा छ ।

‘शत प्रतिशत स्थायीको विषयमा सरकारले अहिले माग पूरा गर्न सक्दैन । एउटा विन्दु खोज्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘अहिले सरकारले क्याबिनेटस्तरबाट निर्णय गर्ने कुरामा आन्दोलनको रुप बदल्ने तर काठमाडौंको सडक भने छाड्नुपर्ने हुन्छ ।’

सरकारले पनि ऐन जारी गर्ने विषयमा मानसिकता परिवर्तन गरेर यही अधिवेशनबाट लागू हुनेगरी काम गर्नुपर्ने दुवै महामन्त्रीको तर्क छ ।

‘यत्रो सडक आन्दोलन गराइराखेर रित्तो हात फर्काएर सरकार रहनुपर्छ भन्ने मा हामी छैनौं । सरकार पनि रहनुपर्छ,’ शर्मा भन्छन् ।

शनिबारको छलफलमा शिक्षक महासंघका नेताहरूले पनि सवंपक्षीय छलफल गरेर टुंग्याउने दिशातिर लाग्ने बताएको शर्माले जानकारी दिए ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय