काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले युरोपेली देशका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र यो संयन्त्रबाट भएका काम सिकाइ बनेको बताएकी छन् । स्थानीय तहबाट यसको सञ्चालन प्रक्रिया उनीहरूका लागि नौलो र अनुकरणीय अभ्यास बनेको उनले बताएकी हुन् ।

बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा उनले भनिन्, ‘युरोपियन युनियनको वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन ए. डि. आर.) को अभ्यास अवलोकनपछि मैले काठमाडौँ महानगरपालिकाको न्यायिक समिति, मेलमिलापका लागि सञ्चालन गरेका वडा स्तरीय मेलमिलाप केन्द्र, वडा महिला सञ्जालको गठन, निःशुल्क कानुनी सेवा, विपन्नका लागि अदालतमा निःशुल्क कानुनी सहयोगका विषयमा प्रस्तुतीकरण गरेँ । प्रस्तुतिपछि उहाँहरूबाट महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएँ । यो प्रतिक्रियाले खुसीसँगै थप जिम्मेवारी बढेको महसुस गरेँ ।’

युरोपियन युनियनको निमन्त्रणा चैत २३ गते बेल्जियम गएकी डंगोलले ‘सहरी विकास योजना’, ‘न्यायिक प्रणाली’ र ‘सांस्कृतिक सम्पदा’ सम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी थिइन् । यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको थियो ।

भ्रमणका लागि विभिन्न देशका ७ जना आमन्त्रित थिए । उपप्रमुख डंगोलले पठाएको स्टेटमेन्ट अफ प्रपोजका आधारमा व्यक्तिगत रूपमा भेट, बैठक र छलफल भएको थियो । यस क्रममा उनले युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटघाट र छलफल गरेकी थिइन् । यसमा सहरको विकास र व्यवस्थापनसँगै अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा कुराकानी भएको थियो ।

  • विवादको संवेदनशीलताका आधारमा सुनुवाइ कक्ष 

‘लक्जेम्बर्गको न्यायिक प्रक्रियामा विवादको प्रकृतिका आधारमा छुट्टाछुट्टै सुनुवाइ कक्षको प्रयोग हुने गरेको छ । त्यहाँ ११ वटा सुनुवाइ कक्ष छन् । अति जरुरीका विवाद पहिलो नम्बरको कक्षमा पठाइन्छ । त्यहाँ धेरै न्यायाधीश हुन्छन् । यसै गरी विवादको संवेदनशीलताका आधारमा क्रमशः अरू कक्षहरूमा विवाद पठाउने गरिएको छ,’ डंगोलले भनिन्, ‘अवलोकनका क्रममा विवाद दर्तादेखि निर्णय गर्दा सम्मको प्रक्रियाको अवलोकन भयो ।’

अवलोकनका क्रममा युनियनको न्यायिक प्रणाली अध्ययन गर्न आएका इटलीको बोकोनी विश्वविद्यालयमा कानुन विषयका विद्यार्थीहरूलाई उपप्रमुख डंगोलले काठमाडौँको विवाद निरूपण र मेलमिलाप अभ्यासका विषयमा जानकारी गराएकी थिइन् । काठमाडौँको अभ्यास सुनेपछि विश्वविद्यालयका विद्यार्थीहरूले काठमाडौँको अभ्यास अध्ययन गर्न आउने इच्छा देखाएका छन् ।

सिटी अफ व्रसेल्सले नगरलाई टेन मिनेट्स सिटी र आइटी सिटीका रूपमा विकास गरेको छ । त्यहाँका उपप्रमुखसँगको भेटको प्रसङ्गमा उपप्रमुख डंगोलले जुनसुकै सेवा पनि १० मिनेटभित्र प्रदान गर्ने र रियल टाइम डाटाबाट क्लोज टु पर्फेक्टका लागि काम गरिरहेको जानकारी दिइन् ।

‘सहरी विकास योजनाको अवलोकनका क्रममा पैदलयात्री र साइकलयात्रीलाई मुख्य प्राथमिकता दिएको पाएँ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘साइकलमा चढेर ट्रयाकको अवलोकन भएको थियो । यस क्रममा सहरी योजनामा साइकल र यसको पूर्वाधारका पक्षमा काठमाडौँले सिक्न सक्ने काम योजनाका रूपका लिएर आएकी छु ।’

त्यस्तै, नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डंगोलले वेल्जियमस्थित नेपाली दूतावाससँग छलफल गरेकी थिइन् । इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताब्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस/पर्शुरामको मूर्ति र राष्ट्रिय संग्रहालयबाट हराएको ११ औँ शताब्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनको भनाई छ ।

नेपाल फर्किएपछि उनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई दूतावाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्‍याउन निर्देशन दिएकी छन् ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय