तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएयता सत्ताको स्वाद मज्जाले चाखिरहेको छ । ६२\६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसददेखि अहिलेसम्म सिंहदरबारमा माओवादीको बोलवाला रहिआएको छ ।

६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा देशकै ठूलो पार्टी बनेपछि अहिलेसम्म माओवादी नेतृत्वमा मात्रै ३ वटा सरकार बनिसकेको छ । तर ६५ साल यता कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न सकेका छैनन् ।

२०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपाली कांग्रेस र एमालेले सत्ताको स्वाद पालैपालो चाखे । प्रजातन्त्र प्राप्तीपछि पनि नागरिकको अपेक्षा पूरा नभएको भन्दै माओवादीले २०५२ सालदेखि सशस्त्र संघर्ष नै थाल्यो ।

सशस्त्र संघर्षका क्रममा राज्य विद्रोही पक्षबाट १७ हजार भन्दा बढीले ज्यान गुमाए । युद्धको पीडाबाट गुज्रिएका नागरिक ६२\६३ को आन्दोलनमा पुनः सरिक भए ।

त्यही दोस्रो जनआन्दोलनका बलमा राजतन्त्रकै अन्त्य भयो । माओवादी शान्ति प्रक्रियामा आयो । त्यसयता माओवादी निरन्तर सत्ताकै वरिपरि रहिरह्यो । तर ६५ सालदेखि अहिलेसम्मको कुनै पनि सरकारले पाँच वर्षे आयू पूरा गर्न भने सकेका छैनन् ।

२०६५ सालयता भएका प्रधानमन्त्रीहरु

गिरिजाप्रसाद कोइराला वि.सं. २०६५ जेठ १५ गतेदेखि २०६५ भदौ २ गतेसम्म ।

पुष्पकमल दाहाल  वि.सं. २०६५ भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म ।

माधवकुमार नेपाल  वि.सं. २०६६ जेठ ११ गतेदेखि  २०६७ माघ २३ गतेसम्म ।

झलनाथ खनाल  वि.सं. २०६७ माघ २३ गतेदेखि २०६८ भदौ १२ गतेसम्म ।

डा.बाबुराम भट्टराई  वि.सं. २०६८ भदौ १२ गतेदेखि २०६९ चैत १ गतेसम्म ।

खिलराज रेग्मी वि.सं. २०६९ चैत १ गतेदेखि २०७० माघ २८ गतेसम्म ।

सुशील कोइराला वि.सं. २०७० माघ २८ गतेदेखि २०७२ असोज २५ गतेसम्म ।

केपी शर्मा ओली  वि.सं. २०७२ असोज २५ गतेदेखि २०७३ साउन २० गतेसम्म ।

पुष्पकमल दाहाल  वि.सं. २०७३ साउन २० गतेदेखि  २०७४ जेठ २४ गतेसम्म ।

शेरबहादुर देउवा  वि.सं. २०७४ जेठ २४ गतेदेखि २०७४ फागुन ३ गतेसम्म ।

केपी शर्मा ओली  वि.सं. २०७४ फागुन ३ गतेदेखि २०७८ वैशाख ३० गतेसम्म ।

केपी शर्मा ओली  वि.सं. २०७८ वैशाख ३० गतेदेखि २०७८ असार २९ गतेसम्म ।

शेरबहादुर देउवा  वि.सं. २०७८ असार २९ गतेदेखि २०७९ पुस १० गतेसम्म ।

पुष्पकमल दाहाल  वि.सं. २०७९ पुस १० गतेदेखि अहिलेसम्म ।

२०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलो पटक सहभागी भएको थियो । जतिबेला सञ्चार मन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका ५ नेता मन्त्री भएका थिए ।

२०६६ साल जेठमा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रतिपक्षमा रहेको माओवादी २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी भएन । २०७४ को चुनावमा माओवादी–एमाले चुनावी गठबन्धन बनेपछि तत्कालिन प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए ।

२०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै माओवादीका ५ मन्त्रीले राजीनामा दिएका थिए भने एमाले र माओवादी एकता भंग भएपछि २०७८ सालमा ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थिएन । त्यस बाहेकका सबै सरकारमा माओवादीको सहभागिता रहेको छ ।

२०६९ मा संविधान सभा विघटन भएपछि २०६९ चैतमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बन्दा समेत माओवादीका दुई जना प्रतिनिधि मन्त्री बनेका थिए । संघीय सरकार मात्र नभइ सबै प्रदेश सरकारको स्वाद पनि माओवादीले चाखेको छ ।

तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि कुनै पनि सरकार स्थिर हुन सकेन । कहिले एमाले त कहिले कांग्रेसको बुइ चढेर प्रधानमन्त्री रहिरहेका संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरि संकटतर्फ धकेलिएको छ ।

एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सोमवार मध्यरातमा ७ बुँदे सहमति गरेसँगै एमालेले दाहाल सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाइसकेको छ । त्यसैले तेस्रो पटक प्रधानमन्त्री बनेका उनको कार्यकाल पनि २ वर्ष पनि नपुग्ने भएको छ ।

सरकार फेरबदलको यस्तो घिनलाग्दो खेलले वर्तमान राज्य ब्यवस्था माथि नै प्रश्न चिन्ह खडा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय