अन्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्काउन शुरु गर्यौ बानेश्वरमा व्यापारिक भवनका संरचना।
६ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ ।
अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काउन थालेको हो ।
काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो।
उक्त म्याद आइतबार सकिएपछि आइतबार नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैं खटिएका थिए।
धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ ।
नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्राय: सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।