त्यसका लागि उनीहरूले आङ्बुहाङको नाममा नक्कली नागरिकता बनाउने र त्यसमार्फत आफू नै जग्गाधनी भएको भन्दै हराएको बताएर प्रतिलिपी धनीपूर्जा निकाल्ने योजना बनाए । त्यसपछि सुक्रबहादुरलाई आङ्बुहाङ बनाएर नक्कली नागरिकता बनाइयो ।
अनि त्यही नागरिकताका आधारमा प्रतिलिपी लाजपूर्जा निकाल्ने, राष्ट्रिय परिचयपत्र बनाउने, प्यान कार्ड बनाउने, बैंक खाता खोल्नेसम्मका कामहरू भएको अनुसन्धानबाट खुलेको छ ।
ईश्वर आङ्बुहाङको नामको नक्कली नागरिकता बनाएपछि त्यसैको प्रतिलिपी लालपूर्जा उपलब्ध गराई पाउँ भन्दै निवेदन दिइएको थियो । अनि लालपूर्जा समेत निकालिएको पाइएको छ ।
यसरी सक्कली जग्गाधनी बनेर लालपूर्जा निकाल्ने व्यक्ति हुन्, अहिले पक्राउ परेका सुक्रबहादुर । यसका मुख्ययोजना भने दावा हुन् । दावाले सिकाएअनुसार सुक्रबहादुर वास्तविक आङ्बुहाङ बनेर लालपूर्जा समेत निकालेका थिए । योजनाकार दावा भने मालपोत कार्यालयमा पेश भएका लिखतहरूमा भने ‘फुरी शेर्पा हुँ’ भन्दै साक्षी बसेका थिए ।
अर्का योजनाकार भुपाल भने ‘जग्गाधनी कोही छैन, आफैं जग्गा धनी हो’ भन्दै चाबहील मालपोत कार्यालयमा सुक्रबहादुर उपस्थित गराउने व्यक्ति हुन् ।
अहिले समातिएका मध्ये भुपालविरुद्ध यसअघि दुई पटक मुद्दा चलेको समेत प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा भेटिएको छ । २०६५ सालमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट अभद्र र २०६६ मा प्रहरी वृत्त बौद्धबाट सरकारी छाप कीर्ते कसुरमा उनीविरुद्ध मुद्दा चलेको भेटिएको छ ।
त्यस्तै दावाविरुद्ध पनि दुई पटक मुद्दा चलेको भेटिएको छ । २०७२ सालमा प्रहरी वृत्त थानकोटबाट मानव बेचबिखन तथा ओसार पसार र २०७६ मा प्रहरी वृत्त कालिमाटीबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको देखिएको छ ।
उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिका नामको जग्गाधनी पूर्जा, लिखत कागजातहरू, ३ थान मोबाइल, ईश्वर आङ्बुहाङको नामको नक्कली नागरिकता, झुटा विवरणको आधारमा तयार पारिएको राष्ट्रिय परिचयपत्र, बुढानिलकण्ठ नगरपालिका–४ को जग्गाधनी पूर्जाको प्रतिलिपि लिन दिइएको सिफारिस र ३ लाख ४० हजार बरामद गरेको छ ।




