फोहोर विसर्जनस्थलमा स्थानीय र प्रहरीबीच झडप, १४ जना पक्राउ।
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुऱ्याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।
फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको प्रहरीले जनाएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसकेको छ।
यसअघि सोमबार सहरी विकास मन्त्रालयमा मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो । सोही सहमतिअनुसार मंगलबार बिहान काठमाडौँको फोहोर बन्चरेडाँडामा पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएकोर काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीयले फोहोरका गाडी अवरोध गरेका हुन्।