तेल र बोसोजस्ता वस्तुहरूको मुद्रास्फीति नियन्त्रण गर्न भारतले कच्चा तथा प्रशोधित खाने तेलको आयात शुल्क घटाएको छ ।
२०२५ अप्रिलमा उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्यान्न मुद्रास्फीति घटेर १.७८ प्रतिशतमा पुगेकोमा मार्चमा २.६९ प्रतिशत पुग्यो । तर अप्रिल २०२५ मा ‘तेल तथा बोसो’ मा दोहोरो अंकको मुद्रास्फीति देखिएको थियो ।
उक्त मुद्रास्फीति कम गर्न भारतले खाने तेलमा लाग्ने आधारभूत आयात शुल्क १० प्रतिशत घटाएको छ । जसले त्यहाँका स्थानीय प्रशोधन उद्योगलाई पनि फाइदा पुग्नेछ । यस कदमले खाने तेलको मूल्य घटाउने, माग बढाउने र त्यसपछि पाम तेल, भटमास (सोयाबिन) तेल र सूर्यमुखी (सनफ्लावर) तेलको आयात बढ्ने भारतीय सरकारको अपेक्षा छ ।
भारतले कच्चा पाम तेल, कच्चा सोयाबिन तेल र कच्चा सनफ्लावर तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको भारत सरकारले सूचनामार्फत जनाएको छ ।
यो निर्णयले तीन किसिमकै तेलहरूमा लाग्ने कुल आयात शुल्कलाई २७.५ प्रतिशतबाट घटाएर १६.५ प्रतिशतमा ल्याउने भएको छ । यो निर्णयले भने नेपाललाई ठुलो प्रभाव पर्ने तेल निर्यातकर्ता तथा उद्योगीहरूले बताएका छन् ।
उद्योगी सुबोधकुमार गुप्ताले अहिले भारतले कोटामार्फत आयात गरिरहेकाले समस्या नपर्ने र कोटा सकिएपछि निर्यातमा समस्या हुने बताए । ‘नेपालबाट निर्यात हुँदाभन्दा अन्य देशबाट आयात गर्दा सस्तो पर्ने देखियो भने अरू देशबाट भारतले आयात गर्छ । किनभने नेपालमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर निर्यात हुँदै आएको छ ।’
साथै भारतले जुनसुकै वेला कोटा बन्द गरिदिन सक्ने सम्भावना रहेको र अब नेपालबाट हुने तेल निर्यात प्रभावित हुने उनले बताए ।
यसअघि सन् २०२२ को मेबाट २०२४ सेप्टेम्बरसम्म भारतले अन्य देशलाई पनि तेलको भन्सार शून्य कायम गरेको थियो । त्यसयता सानो परिमाणमा मात्रै तेल निर्यात भएको थियो । फेरि सन् २०२४ सेप्टेम्बर भारतले नेपालबाहेक मुलुकबाट आयात हुने तेलमा २० प्रतिशत भन्सार कायम गरेको थियो । त्यसपछि नेपालबाट ठुलो परिमाणमा तेल निर्यात भएको देखिन्छ ।
९१ अर्बको तेल निर्यात
नेपालले बाहिरी मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको छ । निर्यातको पछिल्लो तथ्यांकअनुसार नेपालबाट ठुलो परिमाणमा खाने तेल सोयाबिन, सनफ्लावर र पाम तेल भारततर्फ निर्यात हुने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि वैशाख मसान्तसम्म नेपालबाट भारतमा करिब ९१ अर्ब ३८ करोड रुपैयाँको तेल निर्यात भएको देखिन्छ ।
चालु आर्थिक वर्षको १० महिनामा ७८ अर्ब ७६ करोड ३ लाख ९३ हजार रुपैयाँ बरारको ३७ करोड ४१ लाख १० हजार ९४८ लिटर सोयाबिन तेल निर्यात भएको छ ।
यस्तै १ अर्ब ९३ करोड २६ लाख ६८ हजार रुपैयाँको १ करोड ७ लाख ९८ हजार ४९७ लिटर पाम तेल र १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँको ४ करोड ५७ लाख ७९ हजार २९ लिटर सनफ्लावर तेल निर्यात भएको छ ।
यस्तै अन्य तेल ६० करोड ९० हजार रुपैयाँको ३१ लाख ५३ हजार ३९२ लिटर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कति छ कच्चा तेलको आयात ?
आर्थिक वर्षको १० महिनाको अवधिमा १ खर्ब १६ अर्ब २२ करोड ५१ लाख २४ हजार रुपैयाँको पाम, सनफ्लावर र सोयाबिन तेल आयात भएको छ । यी तीनै किसिमका तेल आयात हुँदा ८ अर्ब ५९ करोड २० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कुल तेल आयातमध्ये ८१ अर्ब ९५ करोड ९७ लाख ९९ हजार रुपैयाँको ५३ करोड ९८ लाख ३१ हजार ९०१ लिटर सोयाबिन तेल आयात भएको छ । सो परिमाणमा तेल आयात हुँदा ३ अर्ब ६ करोड ४२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
सो अवधिमा ९ अर्ब ३८ करोड ७३ लाख ४७ हजार रुपैयाँको ६ करोड ३६ लाख ८६ हजार ९२९ लिटर पाम तेल आयात भएको छ । सो परिमाणमा पाम तेल आयात हुँदा २ अर्ब २० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी २४ अर्ब ८७ करोड ७९ लाख ७७ हजार रुपैयाँको १६ करोड ७७ लाख २८ हजार ४१८ लिटर सनफ्लावर तेल आयात भएको छ । ३ अर्ब ५२ करोड ५७ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
‘आयात गरी निर्यात हुने भएकाले प्रभाव पर्दैन’
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गरिने भएकाले व्यापारमा प्रभाव नपार्ने तर्क गरे । यस्तै आयात घट्ने र व्यापारघाटा कम हुने उनको भनाइ छ ।
‘यहाँबाट निर्यात हुने रेटमा नै आएको हो भने प्रभाव पार्दैन । त्योभन्दा कम रेट भए पार्छ,’ उनले भने, ‘त्यही पनि आयात गरेर निर्यात भएको वस्तु हो । निर्यात बढ्यो भनेर गर्व गर्ने विषय होइन किनभने हाम्रो देशको कच्चा पदार्थ होइन ।’
तेस्रो मुलुकबाट कच्चा पदार्थ झिकाएर प्रशोधन गरी निर्यात हुने भएकाले खासै प्रभाव नपर्ने तर स्वदेशी उत्पादन नै भएको भए प्रभावपर्ने उनले बताए ।
‘हाम्रो त भ्यालुएडिसन मात्रै हो । त्यसले गर्दा स्वदेशी वस्तुजस्तो होइन । अस्थायी थियो र अस्थायी नै हुन्छ,’ उनले भने, ‘भारतले अरूलाई भन्सार बढाउँदा स्पेस भयो घटाउँदा स्पेस भएन ।’



